
डोटीः आगलागीबाट पाइप लाइन जलेपछी डोटीको गैरागाउँ-सिलगढी खानेपानी बुधबार साझदेखि अवरुद्ध भएको छ ।
खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गलमा लागेको आगोले उक्त खानेपानी लाइनको क्रसिङमा रहेको पाइपहरु जलेपछि खानेपानी अवरुद्ध भएको सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले जानकारी दिए । उनलेे भने-“गैरागाउँ-सिलगढी खानेपानी लाइनमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गलमा लागेको आगोले ४ ठाउँमा पाइप जलेपछी खानेपानी अवरुद्ध भएको छ ।”

जङ्गलमा स्याउला निकै बाक्लो रहेकोे र आगलागी अझै जारी रहेकोले पाइप लाइनमा थप क्षती हुनसक्ने उनलेे बताए ।
सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले खानेपानी लाइन मर्मत गर्न लाग्ने समय बारे अहिल्यै एकिन केही भन्न नसकिने सार्वजनिक सूचना जारी गरेको छ ।


खानेपानी अवरुद्ध भएपछि विशेष गरि डोटी सदरमुकाम सिलगढीमा खानेपानीको अभाव भएपछि सास्ती भएको छ ।
यद्यपि अर्को मुहान भोगरे खोलाको पानीलाई एक दिन बिराएर वितरण गरिने जनाइएको छ ।

उक्त मुहानबाट पानी धेरै कम मात्रामा आउने भएको हुँदा एकदिन बिराएर पनि खानेपानी आपूर्ति गर्न सम्भावना कम रहेको खानेपानी समितिले जनाएको छ ।
मर्मत नहुन्जेलसम्म भएको पानीलाई मितव्ययिता अपनाएर कम खपत गर्न पनि समितिले आग्रह गरेको छ ।
































