
डोटीः डोटीको जोरायल गाउँपालिका–१ गैरामा अनिश्चितकालका लागि चक्काजाम गरिने भएको छ ।

हिजो सोमबार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा मोटरसाइकललाई ठक्कर दिने बसका चालक फरार भएपछि आज मंगलबार बिहान ८ बजेदेखि अनिश्चितकालका लागि चक्काजाम गरिन लागेको स्थानीय सोबान खड्काले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ थक्लाडी निबासी एवं सो वडाका पुर्व वडाध्यक्ष पूर्णबहादुर ऐरको निधन भएको थियो।


बसका चालकले कानुनी रूपमा समस्या समाधान गर्नुको सट्टा फरार भएपछि स्थानीयले सोमबार साँझ पनि गैरा बजारमा करिब दुई घण्टा चक्काजाम गरेका थिए ।
सोमबार सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२८७ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–०११ प ९४६७ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो। बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममै मृत्यु भएको थियो।
दोषीलाई कानुनी दायरामा नल्याईएसम्म चक्काजाम जारी रहने, एम्बुलेन्स लगाएत अत्यावश्यक सवारी पास हुन दिने र चक्काजामका कारण सर्वसाधारणमा पर्न जाने असुविधाको लागि स्थानीयले सबैमा क्षमा माग्दै बाध्यताले चक्काजाम गर्नुपरेको स्थानीयले बताएका छन् ।






























