
बझाङः बझाङमा नागरिक आरोग्य सेवा केन्द्रका कर्मचारीहरुलाइ एक दिने अभिमुखीकरण तथा पुनर्ताजकीय तालिम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ९ झोतामा नागरिक आरोग्य सेवा केन्द्रका कर्मचारीहरूलाई तालिम प्रदान गरिएको हो ।

योग र ध्यानको प्राकृतिक विधिबाट शारीरिक तन्दुरुस्तीका साथै व्यक्तिमा सकारात्मक सोच र व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरेको छ । सोही कार्यक्रम अन्तर्गत आयुर्वेदिक तथा वैकल्पिक चिकित्साको प्रयोग तथा दैनिक जीवनमा गरिने खानपान, त्यसले स्वास्थ्यमा पार्ने असर र कस्तो जीवन अपनाए उपयोगी हुन्छ, सर्ने रोग र नसर्ने रोगबाट कसरी बच्ने भन्ने विषयमा जानकारी गराइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी कृष्ण बहादुर कठायतले बताउनुभयो ।


आफ्नो भनाइ राख्दै केदारस्युँ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नन्दलाल बोहराले नागरिक आरोग्य कार्यक्रम मानिसको जीवन दैनिकी सँग जोडिएको महत्वपूणर् कार्यक्रम रहेको बताउनुभयो । यो कार्यक्रमलाई निरन्तरता दिन आफू सकारात्मक रहेको उहाँको भनाइ थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख मिन राज पुरीले धन्वन्तरिको समय देखि सुरु भएको आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा पालना गर्नुपर्ने र सबैले स्वस्थकर जीवनयापन गर्दै आयुर्वेदको विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो । नियमित रूपमा योग र ध्यान गर्न पनि उहाँले सुझाब दिनुभयो । जिल्लामा पाइने स्थानीय जडीबुटी पहिचान गरी उपयोग गर्न पनि उहाँले सहभागीहरुलाइ सुझाब दिनुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख मिन राज पुरीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि केदारस्युँगाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नन्दलाल बोहरा रहनुभएको थियो । कार्यक्रममा नागरिक आरोग्य केन्द्रका शाखा प्रमुखहरू , आयुर्वेद औषधालयका कर्मचारी लगाएतको उपस्थिति थियो । साथै योगा समेत गराइएको थियो । जिल्ला पतञ्जलि योग समितिका अध्यक्ष मोहन मल्लले योग कक्षा सञ्चालन गर्नुभएको थियो ।
































