
बझाङः अन्तर पालीका श्रोत साझेदारी सम्बन्धी कार्यशाला बैठक सम्पन्न भएको छ । बझाङ जिल्लामा रहेका स्थानीय तहहरू बिच बिपद् पूर्व तयारी तथा प्रतिकार्य कार्यका लागी श्रोत साझेदारी कार्यक्रम सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरिएको हो । विपद् पूर्व, विपद्को दौरानमा र विपद् पश्चात् जोखिम व्यवस्थापनका लागि स्थानीय तहबिच आपसी समन्वय, सहकार्य र सहयोग बढाउने उद्देश्यले उक्त कार्यशाला बैठक बसेको हो ।

कार्यशाला बैठकमा जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरू, जिल्ला स्थित सरकारी एवं गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, राजनीतिक दल, सुरक्षा निकाय , सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले अन्तर पालिका एवं सरोकारवाला निकायहरू बिच हुने पारस्परिक आपसी सहयोग, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागी सरकार समुदाय निजी क्षेत्र, र विकास साझेदारहरू जस्ता संस्था बीचको मानवीय, भौतिक तथा डिजिटल स्रोतहरूलाई एकत्रित गर्ने र सवल विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि स्थानीय सरकारहरू बीच आपसी पारस्परिक सहयोग तथा क्षमता सुद्धिढ गर्ने सम्बन्धमा अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रम पश्चात् सम्पूर्ण स्थानीय तह, सरोकारवाला निकायहरू बिच आगामी दिनमा विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा आपसी समन्वय र सहकार्य गर्नका लागी समझदारी पत्रमा समेत हस्ताक्षर गरिएको सुपर परियोजना स्थानीय साझेदार संस्था ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक कार्यकारी निर्देशक अमर बहादुर साउदले जानकारी दिनुभयो । उक्त गोष्ठीमा प्राविधिक सहयोग युएनडिपी सुपर परियोजनाको रहेको थियो ।
































