
विपद उद्धार सम्बन्धी अभ्यास गर्ने क्रममा एक जना सशस्त्र प्रहरीको डुबेर मृत्यु भएको छ । केदारस्यु गाउँपालिका ५ घर भएका सशस्त्र प्रहरीका जवान २६ बर्षिय नरेन्द्र सिहं धामीको सोमबार बिहान सेती नदीमा डुबेर मृत्यु भएको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र जयपृथ्वी नगरपालिकाको टोलीले विपद उद्धार सम्बन्धी संयुक्त अभ्यास गर्ने क्रममा उक्त घटना भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताउनुभयो ।

बिहान साढे ९ बजे तिर बझाङ सदरमुकाम नजिक भोपुर दरबार नजिकै बाढीमा डुबेका व्यक्तिको उद्धार सम्बन्धी ’डेमो’ अभ्यासका क्रममा चैनपुर साना सहरी खानेपानी आयोजनाको ट्यांकी नजिक धामी बेहोस भएका थिए । नदीमा टाँगिएको डोरीको साहारामा उद्धार अभ्यास गरि रहेका थिए ।

सोहि क्रममा डुबेर बेहोस भएका उनलाई त्यहाँबाट उपचारको लागि जिल्ला अस्पताल पुर्याइए लगत्तै अस्पताले साढे १० बजे मृत्यु भएको घोषणा गरेको थियो । मृतक धामी विपद व्यवस्थापन सम्बन्धी तालिम प्राप्त व्यक्ति भएको प्रहरीले जनाएको छ ।
































