
अत्तरिया: अत्तरिया- धनगढी सडक खण्डको गोदावरी नगरपालिकाको क्षेत्रमा बृक्षारोप गर्ने काम पुनः अगाडी बढेको छ । गोदावरी नगरपालिका भित्रको सडक खण्डमा केही बोट बिरुवा गत बर्ष ‘प्लानेट ग्रिन नेपाल’ संस्थाले बृक्षारोपण गरेको थियो भने खाली रहेको र बाकी रहेको ठाउँमा गोदावरी नगरपालिकाले तार जाली सहित बृक्षारोपण थालेको छ ।

सडकको सौदन्र्यीकरणका साथ–साथै वातावरण स्वच्छ, सफा गर्न पनि रुखहरुको भूमिका हुने भएकोले वृक्षारोपण कार्य अगाडि बढाएको जनाएको छ । सडक बीचभागमा केहि वृक्षारोपण गरिएको छ । बाँकी रहेको ठाउँमा पनि वृक्षारोपण गर्ने नगरको योजना रहेको छ । अत्तरिया चोकबाट सुरु भएको वृक्षारोपण गर्ने कार्य नगरपालिकाले गर्दै गरेको जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताउनु भयो ।

कपुर, गोल्ड मोहर, छविवन, घण्टेश्वरी, गुलाव, सिरोज, प्लावरिङ्ग केक्टस, धुपी, एक्जारो गोल्डमहर, सीता असोक, वीरेन्द्र फूल ,कञ्जु गुलाम, म्याङ्गो स्ट्रिम लगायत सडकलाई असर नगर्ने जातका विरुवा रोप्ने कार्य भईरहेको छ । नगरलाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षरोपण हराभरा बनाउन वृक्षरोपण अति नै आवश्यक रहेको नगर प्रमुख विरेन्द्र भट्टले बताए ।

‘स्वच्छ, सफाका लागि बोटबिरुवा रोप्न आवश्यक छ’, उनले भने, ‘त्यसले गर्दा नगरले बिरुवा रोप्ने कार्यलाई तिब्रता दिएको छ । त्यसमा पनि टि–गार्डसहित हुनेछ ।’ उनले रोपिएका बिरुवा जोगाउनका लागि स्थानीयको साथ सहयोगबिना सम्भव नभएको बताए ।
‘स्थानीयको सहयोगबिना कुनै पनि काम असम्भव हुन्छ’, नगर प्रमुख भट्टले भने । ‘बिरुवा चोरी हुनेदेखि गाईवस्तुबाट बचाउन सबैले लाग्नुपर्नेछ ।’ वृक्षरोपण र सरसफाइ एकअर्काबीच अन्तरसम्बन्ध रहेकाले यसले सुन्दर र हराभरा देखिने बिरुवाको संरक्षण गर्नुपर्ने उनको भनाई रहेको छ ।

सडक मिडियम, दायाँ र बायाँ भागमा बिरुवा रोप्ने कार्य अति नै उत्तम भएको स्थानीयहरुले बताएका छन् । गोदावरी नगरपालिका–२ का नरबहादुर रावतले वातावरणमैत्री सडक बनाउने अभियान प्रसंसनीय रहेको बताए । उनले बिरुवा रोप्ने कार्य चर्चामा आउनका लागि मात्र नभएर रेखदेख महत्वपूर्ण रहेको सुझाए ।
नगरलाई सफा, स्वच्छ बनाउनका लागि सडकलाई हरियालीमात्र होइन, प्लाष्टिकका झोलासमेत निषेध गर्ने नीति नगरले लिएको छ ।
सुन्दर र हरियाली अत्तरिया बनाउने वाचा सहित क्रमिक रुपमा ६ लेन सडक खण्ड, फुटपाथ र अत्तरिया क्षेत्र वरीपरी बृक्षारोपण गर्ने कार्य यसपाली पनि गोदावरी नगरपालिकाले सुरु गरेको जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन । ब्यापारी साथीहरुले पनि आ- आफ्नो वरीपरी सफासुग्गर , लगाएको बोट विरुवालाई सँरक्षण सँगै पानी हाली बिरुवा तथा पाल्टिक मुक्त बनाउन सहयोग गरि दिन नगर प्रमुख भट्टले अनुरोध समेत गरेका छन ।

































