
डोटी: महाभारत लेकमा डोटी र डडेल्धुराको सिमाना नजिकै पर्ने घण्टेश्वर देवताको मेलाका लागि एक महिना अगाडी देखि नै तयारी शुरु गरिएको छ ।
हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गरेकोमा यस वर्ष भदौ २६ गते मेला लाग्दैछ ।

धार्मिक एवं पर्यटकीय क्षेत्र घण्टेश्वरमा लाग्ने मेलालाई व्यवस्तिथ रुपमा सम्पन्न गर्न साउन २६ गते नै सर्वपक्षीय बैठक राखी तयारी थालिएको घण्टेश्वर देवता धार्मिक तथा पर्यटन विकास समिति डोटीका अध्यक्ष भीम बहादुर मडैले जानकारी दिए ।
जसअन्तरगत विभिन्न कामको जिम्मेवारी बाँडफाँड गरिएको उनले बताए ।
मेला अवधीमा खानेपानी व्यवस्थापनका लागि जोरायल गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बिर बहादुर दर्लामीलाई र हगुल्टेदेखि मन्दिरसम्मको सडक मर्मत तथा सरसफाईको लागि जोरायल गाउँपालिका वडा नं. १ का पूर्व वडा अध्यक्ष भजन सिं मल्ल र कुलदेव मल्ललाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै विद्युत व्यवस्थापनका लागि डम्मर डाँगी, भजन कृतन व्यवस्थापनका लागि पदम डाँगी र लाल बहादुर बोगटी, सचिवालय तथा स्वयंसेवक व्यवस्थापनका लागि युवराज मल्ललाई जिम्मेवारी तोकिएको छ ।

यस्तै अतिथि सत्कारका लागि झलक पाली, भक्तजन व्यवस्थापन (देउ पुछाईं) का लागि तिलक मडै र अम्मर पाली, मन्दिर रङ्गरोगन÷दाउरा÷टेन्ट व्यवस्थापन तथा मन्दिर परिसर सरसफाईका लागि मिन बहादुर मडै र खडक बहादुर मगरलाई जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी डेउडा खेल व्यवस्थापनका लागि पदम बहादुर देउवा र गौरा खेल व्यवस्थापनका लागि पनि जोरायल गाउँपालिका वडा नं. १ का पूर्व वडा अध्यक्ष भजन सिं मल्ललाई जिम्मेवारी तोकिएको जनाईएको छ ।
मेलामा शान्ति सुरक्षालाई मध्ये नजर गर्दै पश्चिमतर्फ हगुल्टे, दक्षिणतर्फ भानाकोट, पूर्वतर्फ पाथी हाल्ने र उत्तरतर्फ टाकुल्टेलाई चार किल्ला तोकी उक्त सिमाभित्र मदिरा जन्य कारोबार, जुवातास, खोड्खोडे, रिङ् जस्ता सबै गतिविधीमा प्रतिबन्ध लगाउने निर्णय भएको छ । सो क्षेत्रमा मदिराजन्य कारोबार गर्नेलाई समितिको तर्फबाट रु.५ हजार जरिवाना र कानुन बमोजिम कारवाही गरिने जनाईएको छ ।

घण्टेश्वर मेलामा डोटीको जोरायल गाउँपालिका, डडेल्धुराको गन्यापधुरा र आलिताल गाउँपालिकाका भक्तजनहरुका साथै कैलाली, कञ्चनपुर लगाएत अन्य विभिन्न क्षेत्र र भारतबाट समेत श्रद्धालु भक्तजनहरुको निकै ठूलो भिड लाग्ने गर्दछ ।
राजा रजौटाकै पालादेखि मालपोत कार्यालयमार्फत मेला खर्च पठाइदै आएकोमा त्यसै व्यवस्था अनुसार नेपाल सरकारले पनि पूजा रकम पठाउँदै आएको छ ।
यता मेला व्यवस्थापन समितिबाट पनी नेपाल सरकारलाई घण्टेश्वर देवताको प्रसादका रुपमा तिलख पठाउने प्रचलन रहेको छ ।
घण्टेश्वर देवताको विधानमा उल्लेख भए अनुसार भारतको बद्री केदार भएर कैलाश प्रवेश गर्ने बेलामा स्थानीय पासा देवताले रोकेर त्यो ठाउँमा घण्टेश्वर बास बसेको बुढापाकाहरुको भनाई छ ।
पवित्र मनले उपवास बसि घण्टेश्वर बाबाको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
सो मेलामा जोरायल गाउँपालिका वडा नं. ४ को बिनोडा गाउँबाट करिब ५ घण्टाको पैदल यात्रा गरि घण्टेश्वर देवताको देउरो मन्दीरसम्म पुर्याउने गरिन्छ भने वडा नं. ४ कै सैगडा, वडा नं. १ को सुनलेक, डडेल्धुराको आलिताल गाउँपालिका १ गांखेतको उणी, गन्यापधुरा गाउँपालिका १ को जर्माना गाउँबाट पनि विभिन्न देवताका देउरो ल्याउने गरिन्छ ।
मेलामा रातभर महिला र पुरुषहरूको छुट्टाछुट्टै रूपमा सुदूरपश्चिमेली देउडा खेल खेल्ने प्रचलन रहेको छ ।
धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गको हगुल्टेबाट करिब पौने ४ किलोमिटरको दुरीमा रहेको घनघोर जङ्गलको बिचमा अवस्थित उक्त मन्दिरसम्म पुग्न सडक सुविधा पनि रहेको छ ।
पछिल्लो समयमा वडा, पालिका, प्रदेश र संघ सरकारको सहयोगमा थुप्रै पूर्वाधारहरु तयार गरी सुविधा विस्तार हुनुका साथै सो क्षेत्रलाई थप आकर्षक बनाईएको छ ।
घण्टेश्वर मन्दिर वरपरको वनलाई धार्मिक वनका रुपमा दर्ता गर्ने तयारी समेत अगाडी बढाईएको छ ।
धार्मिक वन दर्ता प्रक्रिया अगाडी बढाउन विभिन्न जनप्रतिनिधीहरु, वन कार्यालयका प्रतिनिधीहरु, उक्त क्षेत्रसँग जोडिएका विभिन्न सामुदायिक वनका प्रतिनिधीहरु र अन्य सरोकारवालाहरु समेतको बैठकमा सर्वसहमती भैसकेको छ ।






























