
डोटीः डोटीको सायल गाउँपालिका ६ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र गोलेदेउलामा यस वर्षको वार्षिक पूजाआजा कार्यक्रम भदौ ३ गते हुने भएको छ ।

हरेक वर्ष भाद्र शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमाका दिन गोलेदेउलामाई मालिका भगवतीको पूजाआजा हुने गर्दछ । अर्थात् बाजुराको बडिमालिका पूजा भएको दोश्रो दिनमा गोलेदेउला भगवतीको पूजाआजा हुने गर्दछ ।
गोलेदेउला भगवतीको पूजाआजापश्चात मात्रै अन्य पूजाआजा खुल्ला गर्ने परम्परा रहेको छ । दशैको बेला रामनवमीका दिन पनि गोलेदेउला भगवतीको पूजाआजा भव्य रुपमा हुने गर्दछ ।
मालिकाका बहिनीहरुमा बडिमालिकालाई सबैभन्दा कान्छी बहिनी र गोलेदेउला भगवतीलाई सबैभन्दा जेठी बहिनी मानिने गोलेदेउला मालिका पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष रमेश साउँदले जानकारी दिए ।
गोलेदेउलामा रहेको गुफाबाट चढाएको तील, अक्षता, फूलपाती सायल ६ को दल्लेकको मगराउको पानीधारामा र दिपायलको बासुधारामा समेत निस्किने परम्परागत धार्मिक मान्यता रहि आएको छ ।


गोलेदेउला भगवतीको पूजाआजाका लागि सायल गाउँपालिकाका साथै दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका, पूर्विचौकी गाउँपालिका लगाएत विभिन्न क्षेत्रबाट दर्शनार्थीहरु आउने गर्दछन् ।
हाल सिलगढी मेल्लेक जोड्ने सडक निर्माण भएपछि थला गाउँबाट अर्थात सडकबाट करिब १ घण्टाको दुरीमा गोलेदेउला पुग्न सकिने हुने दर्शनार्थी भक्तजनका लागि यात्रा गर्न पनि सहज भएको छ ।
पवित्र मनले गोलेदेउलामाईको दर्शन गरेमा सन्तान प्राप्ती हुने लगाएत मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
वार्षिक पूजाआजाको समयका अलावा अन्य समयमा पनि पिननिक आयोजना गर्न, घुमफिर गर्नका लागि प्राकृतिक रुपमा गोलेदेउला रमणीय क्षेत्र रहेको छ ।
यस क्षेत्रको उचित प्रचारप्रसार हुन नसकेको र विकासका लागि लागि शून्यताको चरणबाट काम गर्नुपर्ने अवस्था भए पनि २०८० सालमा औपचारिक रुपमा सँस्था दर्ता गरी आवश्यक पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्धनका कार्यक्रममा जोड दिईएको पनि अध्यक्ष साउँदले बताए ।






























