
डोटी: डोटीमा एक पुरुषले हँसिया प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

बुधबार दिउँसो करिब तीन बजेको समयमा पूर्वीचौकी गाउँपालिका ५ उपरकाँडा बस्ने अन्दाजी ५० वर्षीया पदी साउँदले आफ्नै घरको आँगनमा अन्दाजी ४५ वर्षकी श्रीमती नरु साउँदलाई हँसिया प्रहार गरी हत्या गरेका हुन् ।

स्थानीयले घटनाबारे सानागाउँ प्रहरी चौकीलाई खबर गर्ने बित्तिकै प्रहरी सहायक निरीक्षक ईश्वरीदत्त पाण्ड्ये नेतृत्वको टोली घटनास्थल पुगी पदी साउँदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईको कमाण्डमा टोली पठाईएको जनाईएको छ ।






























