
धनगढी: संस्कृत साहित्यमा दलित समुदायबाट पहिलो पटक आचार्य उत्तीर्ण गरेका कृष्णबहादुर दमाईलाई धनगढीमा सम्मान गरिएको छ।
आज एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाले कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का दमाईलाई सम्मान एवं बधाई ज्ञापन गरेकाे छ। दमाई नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका छन्।

सम्मान कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गाेपाल हमालले आचार्य दमाईलाई १ लाख ५१ हजार नगद सहित सम्मान पत्र प्रदान गरेका थिए । साे अवसरमा वाेल्दै नगरप्रमुख हमालले भने – मेराे पहिले देखिकाे अभियान नै समाजमा विभेद हटाउने हाे, यसै क्रममा कृष्ण दमाईले जुन बिध्या आर्जन गरेर अघि बढनु भएकाे छ याे समाजका लागि ठुलाे प्रेरणा हाे । नगरप्रमुख हमालले जातले काेही सानाे ठुलाे नहुने ज्ञान नै प्रमुख कुरा रहेकाे बताए ।

अझै जातिय छुवाछुत रहेकाे हाम्राे समाजलाई प्रेरणा दिन धनगढी उपमहानगरले आचार्य कृष्ण दमाईलाई पुरष्कृत सहित सम्मान गरेकाे नगरप्रमुख हमालले बताए ।

आचार्य दमाईले चाहेकाे वेला धनगढी उपमहानगरले याेग्यता अनुसारकाे जागिर दिने र उनलाई अभियान्ताका रुपमा समाज परिबर्तनमा सकृय गराउने नगरप्रमुख हमालले घाेषणा गरे । उपमहानगरकाे सभाहलमा आयाेजित सम्मान कार्यक्रममा विभिन्न बक्ताहरुले आचार्य दमाईले आर्जन गरेकाे शिक्षाले समाजलाई जातिय छुवाछुत हटाउन ठुलाे सहयाेग पुग्ने बताए ।






























