
बझाङमा घर सहित पहिरोले सेती नदीमा लगेका गिरीको उद्धार गरिएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ परिङ्गाल स्थित घर मुनिबाट सुक्खा पहिरो खस्दा घरको छाना सहित नदीमा बगाएका एक जनाको उद्धार गरिएको हो ।

थलाराको मालुमेला जाने झोलुङ्गे पुल नजिकै एक घरको छानामा बस्नदै आएका ३६ वर्षीय करन गिरी गएराति १२ बजे सुतिरहेको समयमा पहिरो खस्दा घर सहित सेती नदीमा खसेका थिए ।

राति ठूलो आवाज सहित खसेको पहिरोले घर सहित निदाइरहेका गिरीलाई सेती नदीमा बगाएको थियो । नदीमा खसेपछि गुहार मागेका गिरीलाई स्थानीय दिपेन्द्र खड्का, अर्जुन गिरी र सुरक्षाकर्मीले घाइते अवस्थामा उद्धार गरेको स्थानीयले बताएका छन् ।

सेतीमा खसेका गिरीको शरीर भरि चोट लागेको परिवारले बताएको छ । करनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।































