
धनगढी : दुर्घटनामा परी उपचारको क्रममा बिहीबार निधन भएका वरिष्ठ कलाकार तथा डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको आज( शुक्रबार) धनगढीस्थित त्रिवेणी धाममा अन्त्यष्टि गरिएको छ।
सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले त्रिवेणी घाट पुगेर स्वर्गीय बोगटीको पार्थिव शरीरमा रामनामी ओढाऊदै अन्तिम श्रद्धाञ्जली अर्पण गरे। उपकुलपति जोशीले बोगटीको निधनले सुदूरपश्चिमको कला र संस्कृतिका क्षेत्रमा अपूरणीय क्षति भएको बताए।
यो क्षति कहिल्यै पूरा नहुने बताऊदै उपकुलपति जोशीले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरे। स्वर्गीय बोगटीको शवयात्रामा सयौं कलाकार, पत्रकार, समाजसेवी, साहित्यकार तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति थियो।
अन्त्यष्टि अघि स्वर्गीय बोगटीको पार्थिव शरीरलाई डेउडा प्रतिष्ठान केन्द्रीय कार्यालय तथा साहित्य समाजको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो। प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह, सामाजिक विकास मन्त्री मेघराज खड्का, अर्थ राज्यमन्त्री प्रकाश बम लगायत विशिष्ट व्यक्तित्वहरूले पनि स्वर्गीय बोगटीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
७४ वर्षिय स्वर्गीय बोगटी पूर्व प्रहरी नायब निरीक्षक पनि हुन्। उनको अन्त्यष्टिमा नेपाल प्रहरीले सलामी समेत अर्पण गरेर अन्तिम बिदाइ गरेको थियो। बोगटीको निधनप्रति यस क्षेत्रका दर्जनौ सामाजिक, साहित्यिक, सांस्कृतिक संघ संस्थाहररूले गहिरो दु:ख ब्यक्त गरेका छन्। बोगटीलाई गत असार २९ गते सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले प्रादेशिक प्रतिभा सम्मानसमेत अर्पण गरेको थियो। बोगटी बिगत 30 वर्षदेखि डेउडा संस्कृतिको सम्बर्द्धनमा सकृय थिए।
































