
डोटीः जिल्ला प्रहरी कार्यालय डोटीले चोरीपश्चात बरामत गरिएको सुन विहिबार भारतीय नागरिकलाई हस्तान्तरण गरेको छ ।
जिल्ला सदरमुकाम रहेको वडा, दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासी र डोटीमा क्रियाशील पत्रकारहरुको उपस्थितिमा भारतको राजस्थान, सुवाषचन्द्र बोस स्टेडियम किसनगढ रोड परवतसर नागौरका नागरिक महेन्द्र सिंहलाई बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालयले सोही कार्यक्रममा पत्रकारहरुलाई दिएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका २ का रवि सिंह भनेर चिनिने कैलाश ढोलीले भारतको राजस्थान जिल्ला नागौर किसनगढ परवतसरका महेन्द्र सिंहको घरबाट २०८१ जेठ १४ गते चोरी गरेका थिए ।
उक्त सुन लगाएतको सामाग्रीहरु र नगद चोरी गरेर नेपाल आउने क्रममा २ जना नेपालीलाई भारतको पलियाबाट पक्राउ गरी भारतमै मुद्धा चलेको र एक जना नेपाली घर आएकोमा गत असार २१ गते अनुसन्धानको दायरामा ल्याउँदा सुन जस्तो देखिने पहेलो रंगको धातुको डल्लो पदार्थ (तौल ४० ग्राम) सुन जस्तो देखिने पहेलो रंगको आयताकार धातु (तौल १७१.१८० ग्राम) र सुन जस्तो देखिने पहेंलो रंगको धातुको औंठी पत्थर सहितको (तौल ४.१९० ग्राम) गरी जम्मा ४१५.३७ ग्राम बरामद भएको जनाईएको छ ।

चोरीमा संलग्न भनिएका दिपायल सिलगढी नगरपालिका २ का रवि सिंह भनि चिनिने कैलाश ढोली आफ्नो घरमा काम गर्ने व्यक्ति भएको र आफुहरु घुम्न गएको बेलामा चोरी गरेर भागेको भारतीय नागरिक महेन्द्र सिंहले बताए ।
आफ्नो घरबाट करिब डेढ किलो सुन चोरी भएकोमा २ सय ग्राम सुन भारतमै बरामद भएर आफुले फिर्ता पाईसकेको पनि जानकारी दिए ।
चोरीको सुन बुझाईएको भरपाईमा सुन जस्तो देखिने पहेलो रंगको डल्लो पदार्थ तौल ४० ग्राम (चालिस ग्राम), सुन जस्तो देखिने पहेलो रंगको आयताकार धातु तौल ३७१.१८० ग्राम (तीन सय एकहत्तर दशमलब एक सय अस्सी ग्राम), सुन जस्तो देखिने पहेलो रंगको धातुको औठी पत्थर सहितको तौल ४.१९० ग्राम (चार पोईन्ट छत्तिस एक सय नब्बे ग्राम) र विभिन्न रंगका पत्थर र माला दानाहरु तौल ९५.३६ ग्राम (पन्चानब्बे पोईन्ट छत्तिस ग्राम) रहेका पदार्थहरु भन्ने उल्लेख छ ।


भारतबाट चोरी गरी नेपाल ल्याईएका र नेपालको विभिन्न स्थानबाट फरक–फरक मितिमा रितपूर्वक बरामद ति सामाग्रीहरु बुझाउनेमा जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी निरिक्षक सुर्य प्रकाश भट्ट र प्रहरी नायब निरिक्षक क्षेत्र बहादुर चन्दको नाम उल्लेख छ । यद्यपी बरामद सुन हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक विनोद शर्मा, प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराई पनि सहभागि थिए ।
भरपाईमा सुनचाँदी व्यवसायी संघ डोटीका सदस्य दिपायल सिलगढी ४ बस्ने रविन्द्र सोव, काठमाण्डौ महानगरपालिका ३२ बस्ने मिलन सिंह र भारत राजस्थान पिपलाद नागौर बस्ने नारायण लाल सोनीको छोरा शिव रतन सोनीको नाम तपसिलमा राखिएको छ ।
उक्त सामाग्री बुझाएको भरपाईमा दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासी र वडा नं. ४ का वडा अध्यक्ष अशोक कुमार सोपलाई रोहवरमा राखिएको छ ।
भरपाईमा हस्ताक्षर गरेका वडा नं. ४ का वडा अध्यक्ष सोप हस्तान्तरण कार्यक्रममा भने सहभागि थिएनन् ।
यसका साथै आज असोज १७ गते विहान ७ बजे बोलाईएको कार्यक्रममार्फत बरामद सुन हस्तान्तरण गरिए पनि भरपाईमा भने असोज १६ गतेकै मिति राखिएको छ ।
भरपाईमा हस्ताक्षर गर्दै दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले चोरीको सुन प्रकरणबारे आफुलाई थाहा केहि नभएको तर प्रहरीले रोहबरमा बसिदिन बारम्बार आग्रह गरेपछि सहयोग गरिदिएको बताए । यसका साथै चोरी भएपछि बरामद भएको सुन सम्बन्धीत व्यक्तिलाई बुझाईसकेपछि थुनामा रहेका नेपाली नागरिकलाई पनि रिहाई गरिदिन वडा अध्यक्ष मलासीले भारतीय नागरिक महेन्द्र सिंहलाई आग्रह गरेका छन् ।
हाललाई बरामद भएको सुन सम्बन्धित व्यक्तिलाई बुझाईएको र बाँकी अनुसन्धान जारी रहेको डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक विनोद शर्माले जानकारी दिए ।
कार्यक्रममा सञ्चारकर्मीले सोधेका प्रश्नहरुको जवाफ सहित जानकारी नदिइएकाले सुन चोरी, बरामद, बरबुझारत र अनुसन्धानको विषय फेरि पनि रहस्यकै गर्भमा रहेको छ ।May be an image of 5 people































