
बझाङमा किसानहरुले आधुनिक कृषि उपकरणको प्रयोग गरि खेतीपाती गर्न थालेका छन । गोरु जोतेर खेतीपाती गर्ने किसानहरुले पछिल्ला केही वर्षयता भने आधुनिक कृषि उपकरणको प्रयोग गरि खेतीपाती गर्न थालेका हुन ।

आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै गएपछि पछिल्लो समयमा बझाङका किसानहरुले हल गोरु पाल्न छोडेका छन् । खेतबारी जोत्नका लागि प्रत्येक घरमा एक हल गोरु पाल्ने चलन रहेको भएपनि पछिल्लो समयमा आधुनिक कृषि उपकरणको प्रयोगसंगै त्यो चलन हटेको केदारस्यूँ गाउँपालिका १ का किसान सर्प भण्डारीले बताउनुभएको छ ।
खेतीको समयमा मिनि टिलर, ट्याक्टर जस्ता आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको छ । धेरै जसोको घरमा आजभोली गोरु नभएको किसानहरुले बताउने गरेका छन । समथर किसिमको जमीनमा ट्याक्टर र केही भिरालो किसिमको जमीनमा मिनि टिलरको प्रयोग गरेर खेत जोत्ने गरिएको किसान भण्डारीको भनाइ रहेको छ । उनी भन्छन् बर्षभरि गोरु पाल्नुभन्दा गाइ पाले फाइदा हुने गर्दछ । उनका अनुसार सडक छेउछाउ र बाटो १ मिटेर भएको ठाउँसम्म आधुनिक औजार लिन मिल्ने भएपनि बाटो साँघुरो भएको ठाउँ लिन समस्या हुन्छ, बाटो साँघुरो भएको खेतबारीसम्म स्थानीयले औजार बोकेरै खेती गर्ने गरेका छन भने, अधिकांश मोटरबाटो नपुगेको र भिरालो तथा ढुङ्गा भएको जमिनमा गोरु जोत्ने गरेको छबिसपाथिभेरा गाउपालिका ७ घट्टेका स्थानीय राजन मण्डेलले बताउनुभएको छ ।
बर्षभरी गोरु पालेर खेतबारी जोत्ने समयमा मात्रै काम लाग्ने भएकाले गोरु पाल्नुभन्दा आधुनिक कृषि औजारबाट खेतबारीको काम गर्न सजिलो भएको कतिपय किसानहरु बताउँछन ।


आधुनिक कृषि उपकरणहरुले खेत जोत्न सहज हुने भएकाले यसमा किसानहरुको आकर्षण बढ्दै गएको छबिसपाथिभेरा गाउँपालिका ६ ल्वाडाका किसान जगदिश चलाउनेले बताउनुभएको छ । उनले भने ‘समान्य खर्चमै कृषि औजारहरुको प्रयोग गरेर खेतबारी जोत्न सकिन्छ । गोरु पाल्ने झण्झट भन्दा कृषि औजारको प्रयोग सहज हुने गर्दछ ।
आधुनिक कृषि औजारहरुले किसानहरुको कार्यबोझ समेत घटाएकाले यसमा किसानहरुको आकर्षण बढ्दै गएको थलारा गाउँपालिबका ७ का स्थानीय गणेश बहादुर रोकायाले बताउनुभएको छ । कृषि औजारहरुले किसानहरुलाई सजिलो भएकाले यसको प्रयोग बढ्दै किसानहरुको भनाइ छ ।
कृषि औजार तथा उपकरणमा विभिन्न सरकारी कार्यालयहरुले अनुदान दिँदै आएका छन् । कतिपय स्थानीय सरकारहरुले समेत कृषि उपकरण खरीदमा अनुदान दिने गरेका छन् ।
कृषि ज्ञान केन्द्र, स्थानीय तह र आलु जोन लगायतका कार्यालयहरुले हरेक बर्ष कृषि उपकरण खरीदमा अनुदान दिँदै आएका छन् ।






























