
बझाङ: झोता बजार व्यवस्थापन समितिले देउसी भैलो कार्यक्रम गरि बजार क्षेत्रमा रहेका रुखहरूमा रङ्गरोगन गर्नेहरूलाई सम्मान गरेको छ। केदारस्युँ गाउँपालिका -९ मा पर्ने झोता बजार व्यवस्थापन समितिले आज एक कार्यक्रमको आयोजना गर्दै रुखहरूमा रङरोगन गर्नेहरूलाई सम्मान गरेको हो ।

पढाइको सिलसिलामा बाहिरी गएका र दसैं तिहारका लागि घर फर्केका झोताका युवायुवतीहरुले मिलेर देउसी भैलो कार्यक्रम गरि उठेको रकम मार्फत जयपृथ्वी राजमार्गको दुबै तर्फका रुखहरूमा रङ्गरोगन लगाइ बजारलाई सुन्दर बनाउने अभियान गरेको भन्दै सम्मान गरिएको बजार व्यवस्थापन समितिले जनाएको छ ।


अहिलेसम्म देउसी भैलो खेल्नेहरूले केही नगरेको र यो वर्ष देउसी भैलो खेल्ने युवायुवतीहरूले उदाहरणीय कार्य गरेको भन्दै मनोबल बढाउनका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको बजार व्यवस्थापन समिति सचिव रविन सिंह धामी सुदूर खबरलाई जानकारी दिए ।

बजार व्यवस्थापन समिति अध्यक्ष बिनोद गिरीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष नन्दलाल बोहरा प्रमुख अतिथि रहनु भएको थियोे ।
सम्मान कार्यक्रममा विविध सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियोे । कार्यक्रमको सञ्चालन शिक्षक राजेन्द्र गिरीले गर्नु भएको थियोे , भने कार्यक्रम व्यवस्थापनमा प्रमुख भुमिका बजार व्यवस्थापन समिति सचिव धामीको रहेको थियोे ।































