
बझाङको छबिसपाथिभेरा २ मुम्लामा स्थापित जयपृथ्वी युवा क्लबले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला खसी कप क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

हिन्दुहरूको दोस्रो ठूलो महान चाड शुभ दिपावली, छठ पर्व २०८१ तथा नेपाल सम्वत् ११४५ को पावन अवसरमा रजन्तोला खेल मैदानमा आयोजित खसी कप क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको हो ।
कार्तिक १५ गतेदेखि सुरु भएको खसी कप २०८१ को उपाधि दैपाडी युवा समाज मोतैले हात पारेको छ।


उपाधिका लागि आयोजक (बि) र दैपाडी युवा समाज बिच भएको खेलमा आयोजकलाई ३१ रनले हराउँदै दैपाडी युवा समाजमोतैले उपाधि हात पारेको हो ।
प्रतियोगिताको उपाधि हासिल गरेको दैपाडी युवा समाजले २५ हजारको ठूलो खसी पुरस्कार प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा उपविजेता भएको आयोजक (बि) ले भने ५ केजी बैलर कुखुरामा चित्त बुझाएको छ ।
पछिल्लो समयमा लोकप्रिय हुँदै गएको क्रिकेट खेलको विकास खेलाडीको पहिचान र खेलाडीलाई हौसला प्रदान गर्नका लागि खसी कपको आयोजना गरेको जयपृथ्वी युवा क्लबका अध्यक्ष मिलन कठायतले बताए ।































