
बैतडी: बैतडीको सिगास गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सिगास गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।

शिक्षा युवा तथा खेलकुद शाखाको वार्षिक कार्यतालिका अनुसार आज सम्पन्न पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी, सामाजिक विकास संयोजक तथा वडा नं. ६ का वडा अध्यक्ष तेजबहादुर साउद, शिक्षा अधिकृत रमेश प्रसाद भट्ट, कम्प्युटर अपरेटर प्रकाश सिंह धामी, बिभिन्न विषयगत शाखामा कार्यरत कर्मचारी लगायत १५ ओटा माध्यमिक विद्यालयका १/१ जना प्रतिनिधि शिक्षक र १ छात्रा पर्ने गरी ३/३ जना विद्यार्थी छात्र छात्राहरुको उपस्थिति रहेको थियो ।

१५ ओटा माध्यमिक विद्यालय सहभागी रहेको सिगास गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा अर्जुन माध्यमिक विद्यालय १२ अंकका साथ प्रथम, १० अंकका साथ लेक लुपुड मावि शिवलिङ्ग द्वितिय, ८ अंकका साथ महादेव माध्यमिक विद्यालय काँडा तृतीय र ४ अंकका साथ नरेन्द्रपुर मावि बजकोट चौथो भएका शिक्षा अधिकृत रमेश प्रसाद भट्टले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै शिक्षा अधिकृत रमेश प्रसाद भट्टले गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुदको क्षेत्रमा आफू अहोरात्र खटिएको र आगामी दिनमा अझ शिक्षा युवा तथा खेलकुद क्षेत्रमा सुधार ल्याउन सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, सरोकारवाला सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

शिक्षा, युवा तथा खेलकुदको क्षेत्रमा सिगास गाउँपालिका उत्कृष्ट स्थानमा रहेको बताउँदै आगामी दिनमा पनि सोहि अनुसार सबैले अगाडी बढ्न शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास संयोजक तथा वडा नं. ६ का वडा अध्यक्ष तेजबहादुर साउदले शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै समग्र गाउँ समाज र राष्ट्रको विकासमा शिक्षाको अमूल्य योगदान रहेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण विकास हुने बताउनुभयो । सामाजिक विकास संयोजक भएको हुनाले यी यस्ता कार्यक्रम आयोजना गर्न सबै सँग सल्लाह गर्दै आगामी दिनमा अगाडी बढ्ने समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति समेत रहेका गाउँपालिका उपाध्यक्ष धाना धामीले यस्ता कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण विकास हुने साथै लगातार प्रयास गर्दै जानुपर्नेमा जोड दिनुभयो। सम्पूर्ण सहभागिता जनाएका विद्यालय लाइ विशेष धन्यवाद दिदै यस्ता कार्यक्रम आयोजना गर्न पालिका बाट सक्दो सहयोग गर्ने बताउनुभएको छ ।



































