
दुर्गाथली गाउँपालिकाका सबै वडामा सरसफाइ अभियान सञ्चालन गरीने भएको छ । दुर्गाथली गाउँपालिका गाउ कार्यपालिकाको यही कार्तिक ३० गतेको निर्णय अनुसार ७ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो । पालिकालाइ स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्य सहित उक्त कार्य अगाडी बढाइएको पालिकाले जनाएको छ ।

३० गते बसेको बैठकको निर्णय अनुसार प्रत्येक टोल स्तरमा टोल विकास संस्थाको सहयोगमा टोल सरसफाइ समिति गठन गरी महिनामा कम्तीमा एक पटक टोल स्तरमा सडक, गोरेटो बाटो, धारा मन्दिर,अन्य सार्वजनिक स्थानमा सरसफाइ गरीने , प्रत्येक घरमा एक कुहिने एक नकुहिने खाल्डो खनी एक घर २ खाल्डो अभियान सञ्चालन गर्ने, सार्वजनिक स्थान तथा बजारमा फोहोर फाल्न निषेध गरी घर पसलमा नै फोहोरको उचित विसर्जनको व्यवस्था गर्ने ,लगाएतका कार्य अगाडी बढाइएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापा तुफानले बताउनुभयो ।
कार्यान्वयन गरेका निर्णयको उल्घन गरी फोहोर मैला व्यवस्थापनमा असहयोग गर्ने व्यक्ति तथा सँस्थालाइ दुर्गाथली गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ५२ बमोजिम सजाय तथा जरिबाना गरीने सूचनामा उल्लेख गरिएको छ ।


गाउँपालिका प्रमुख थापाले भने ‘बाहिरबाट आउने व्यक्तीलाइ झट्ट हेर्दा जताततै फोहर देखे भने उनीहरूमा नकारात्मक प्रभाव पर्छ, फोहर भनेको सभ्यतासँग पनि जोडिएको हुन्छ, त्यसो भएकाले पालिकाले सफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ ।’
विकास निर्माण सँगै सामान्यभन्दा सामान्य विषयलाई पनि ध्यान दिएर काम गरिरहेको बताउदै पालिकाले सुरु गर्ने सरसफाइ विशेष अभियानमा गाउवासीलाई समेत सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
































