
बझाङको केदारस्यूँ गाउँपालिकाका स्वास्थ्य संस्थालाई ल्यापटप र प्रिन्टर वितरण गरिएको छ ।
गाउँपालिका मातहत रहेका ल्यापटप र प्रिन्टर पाउन बाँकी रहेका ५ वटा स्वास्थ्य संस्थालाई आज उक्त सामाग्री वितरण गरिएको हो ।

आज सोमबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रम बिच आधारभूत स्वास्थ्य सेवा इकाई चौडेल्ली, भाँडसैन, जुव तथा सामुदायिक स्वास्थ्य इकाई भाँडीकोट र लोतु गरि ५ वटा स्वास्थ्य संस्थाले एकएक सेट ल्यापटप र प्रिन्टर पाएका छन् ।
डिजिटल प्रविधिको प्रयोगले स्वास्थ्य विवरण व्यवस्थापन, बिरामीको रेकर्ड, रिपोर्टिङ प्रणाली, स्वास्थ्य सम्बन्धी अनुसन्धानलाई थप सहज तथा स्वास्थ्य सेवा वितरण प्रणालीलाई छरितो, द्रुत र प्रभावकारी बनाउने हेतुले पालिकाले ल्यापटप र प्रिन्टर वितरण गरेको पालिका स्वास्थ्य प्रमुख अम्मराज बिष्टले सुदूर खबरलाई जानकारी दिए ।


उक्त सामाग्री गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा, उपाध्यक्ष मनिषा धामी लगायत अन्य जनप्रतिनिधिले प्रदान गरेका थिए ।
ल्यापटप र प्रिन्टर बुझ्दै उक्त स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले यो सामाग्रीले काम गर्नमा सहज हुनुका साथै, छिटो र छरितो हुने बताएका थिए ।
सरकारले देशभरका स्वास्थ्य संस्थाको डिजिटल क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण पहलस्वरूप ल्यापटप वितरण कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य सेवा प्रदायक संस्थालाई अत्याधुनिक ल्यापटप प्रदान गरिँदै आएको छ ।
पालिकाले यो भन्दा अघि ४ वटा स्वास्थ्य संस्थालाई ल्यापटप र प्रिन्टर वितरण गरिसकेको छ । यो संगै पालिकाभरका सबै स्वास्थ्य संस्थामा आवश्यक पर्ने इन्टरनेट तथा ल्यापटप र प्रिन्टर वितरण गरेको पालिकाले जनाएको छ ।






























