
बझाङको थलारा गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुदू, थलाराको एकता खेलकुद बिकासका लागि हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ मंसिर २७ गतेदेखि सुरुभएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको हो ।

थलारा गाउँपालिका ४ मा रहेको त्रिभुवन माध्यामिक विद्यालय महेन्द्रधारको खेल मैदानमा सञ्चालन भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पूर्णचन्द्रोदय माध्यामिक विद्यालय कुलाकाट्नेले हात पारेको छ । १० स्वर्ण ४ रजत र ४ कास्य गरि १८ पदक जितेर पुर्णचन्द्रोदयले उपाधि हात पारेको हो ।
प्रतियोगितामा ८ स्वर्ण ७ रजत र ६ कास्य गरि २१ पदक सहित त्रिभुवन माध्यामिक विद्यालयले द्धितीय स्थान हासिल गरेको छ । प्रतियोगितमा तृतीय स्थान थलारा माध्यामिक विद्यालयले हासिल गरेको छ । थलाराले ४ स्वर्ण ५ रजत ६ कास्य गरि १५ पदक प्राप्त गरेको छ ।


प्रतियोगितामा शान्ति माध्यामिक विद्यालय पाराकाट्नेले ३ स्वर्ण, ८ रजत, १ कास्य गरि १२ पदक , शारदा माध्यामिक विद्यालय दंगाजीले २ स्वर्ण १ रजत ३ कास्य गरि ६ पदक जितेको छ । त्यसैगरि भवानी माध्यामिक विद्यालय माडौँकाट्नेले २ स्वर्ण १ रजत गरि ३ पदक, चक्रेश्वर माध्यामिक विद्यालय मालुमेलाले १ स्वर्ण ३ रजत ७ कास्य गरि ११ पदक र लक्ष्मी माध्यामिक विद्यालय मोतीपुरले १ रजत ३ कास्य गरि ४ पदक प्राप्त गरेको थलारा गाउँपालिका खेलकुद समिति अध्यक्ष्य लोकेन्द्र चौहानले जानकारी दिए ।
थलारा गाउँपालिका स्थानीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्ने यस वर्षको जिल्लाकै पहिलो पालिका बनेको छ ।
जिल्ला खेलकुद समितिले स्थानीय खेलकुद समितिलाई उपयुक्त समय मिलाएर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिएको जिल्ला खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकायाले बताए ।
अब लगातर अन्य स्थानीय तहले पनि स्थानीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने समेत उनले जानकारी दिए । अध्यक्ष रोकायाले दुर्गाथलि गाउँपालिकाले यहिं पौष ६ गतेदेखि , बुङ्गल नगरपालिकाले १० गतेदेखि र खप्तडछान्ना गाउँपालिकाले १२ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने आफुलाई जानकारी आएको सुदूर खबरसंग बताए ।
यस्तै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माग तेस्रो सातासम्म सञ्चालन गरिने समेत अध्यक्ष रोकायाले जानकारी दिएका छन ।






























