कृष्णपुर नगरपालिकाद्वारा नि:शुल्क शव चिस्यान सेवा सुरू

Image
Nisarga Hospital

अत्तरिया: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरबासीका लागि निशुल्क शव चिस्यान यन्त्रको व्यवस्था गरेको छ। यसले विशेषगरी टाढा विदेशमा बसोबास गर्ने नगरबासीका परिवारजनको निधन भएको अवस्थामा शव सुरक्षित राख्न सहजता प्रदान गर्नेछ। नगरपालिकाले जनताको आवश्यकतालाई मध्यनजर गर्दै यो सेवा सुरू गरेको हो।

CP Hospital Dhangadhi

कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाका अनुसार, शव चिस्यान यन्त्रको व्यवस्था गर्दा नगरबासीलाई थप सहुलियत पुग्ने विश्वास गरिएको छ। “परिवारजन विदेशमा हुँदा शव व्यवस्थापनमा समस्या हुने गरेको थियो। यो यन्त्रले अब त्यस्ता कठिनाइ हल गर्न मद्दत पुर्‍याउनेछ,” मेयर ओझाले बताए।

यो परियोजनाका लागि नगरपालिका बजेटबाट ३ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको थियो। सो बजेटमा ठेक्का सम्झौतामार्फत शव चिस्यान यन्त्र ३ लाख ४ हजार रुपैयाँमा खरिद गरिएको नगरपालिकाले जानकारी दिएको छ। यस यन्त्रमार्फत शवलाई केही दिनसम्म सुरक्षित रूपमा चिसो अवस्थामा राख्न सकिनेछ, जसले गर्दा अन्तिम संस्कारको लागि परिवारजन उपस्थित हुन पर्याप्त समय मिल्नेछ।

nawajiwan
Attariya Hospital

नगरपालिकाले यो सेवा निशुल्क रूपमा प्रदान गर्ने घोषणा गरेको छ। स्थानीयवासीले यो सेवा सहज रूपमा उपयोग गर्न सकून् भन्ने उद्देश्यले नगरपालिकाले आवश्यक जनशक्ति व्यवस्थापन र प्रक्रियाबारे जानकारी गराउने तयारी गरिरहेको छ।

नगरपालिकाले जनताको दैनिक जीवनमा सहजता ल्याउन यस्ता महत्वपूर्ण सामाजिक सेवाहरूमा लगानी गर्दै आएको बताएको छ। शव चिस्यान सेवाले नगरपालिकाका बासिन्दाको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास नगरपालिकाले लिएको छ।