
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बझाङको जिल्ला सम्मेलन सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश प्रतिनिधि धनबहादुर गुर्धामीको अध्यक्षतामा आज सम्पन्न सम्मेलनले सुदूर पश्चिमाञ्चल विद्या सदन, चैनपुरका संस्थापक प्रिन्सिपल कुम्भराज खत्रीलाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको हो।

सम्मेलनले खत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ। कार्यसमितिमा व्राइट भिजन बोर्डिङ दुर्गाथलीका उत्तम मल्ल उपाध्यक्ष, गोल्डेन फ्युचर बागथलाका शैलेन्द्रकुमार मल्ल सचिव, जयपृथ्वी विद्या सदन चैनपुरकी प्रभालक्ष्मी बजाल कोषाध्यक्ष तथा अन्य सदस्यहरूलाई समावेश गरिएको छ।
त्यसैगरी, केदार डिलाइट बोर्डिङ स्कुलका संस्थापक धनबहादुर गुर्धामीलाई प्रदेश प्रतिनिधि र हेमन्तराज जोशी, शिक्षाप्रेमी जोशीलाई वरिष्ठ सल्लाहकार तथा भानुभक्त जोशीलाई सल्लाहकार चयन गरिएको छ।


नवनिर्वाचित अध्यक्ष कुम्भराज खत्रीले जिल्लाको शैक्षिक स्तर उकास्न सरोकारवालासँग सहकार्य गर्दै योजना र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। खत्रीको विद्यालयमा ५०० भन्दा बढी विद्यार्थी र २२ शिक्षक छन्।
अध्यक्ष खत्रीका अनुसार प्याब्सन केवल निजी विद्यालयहरूको संस्थामात्र नभई शिक्षक, अभिभावक र बालबालिकाको अधिकारका लागि पनि काम गर्ने संस्था हो। उहाँले जिल्लाको शैक्षिक गरिमा वृद्धि गर्न प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।































