
धनगढी- बझाङमा सेती नदीमा हाम फालेकी महिलाको शव फेला परेको छ । जिल्लाको थलारा गाउँपालिका–४ डिख्लाका राजेश साउँदकी २७ वर्षीया श्रीमती धर्मा साउँदले बिहीबार आज बिहान ४ बजेको समयमा केदारस्यूँ गाउँपालिका ९ को झोताबाट थलारा जोड्ने सेती नदिमाथिको झोलुङ्गे पुलबाट नदीमा हाम फालेकी थिइन् । बिहानै नदिमा हाम फालेकी साउँद दिउँसो १ बजेको समयमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । साउँदको शव हाम फालेको ठाउँबाट २ किलोमिटर तल सेती नदिको पानीमा डुबेको अवस्थामा फेला परेको समेत प्रहरीले जनाएको छ । उनले केकति कारणले नदिमा हाम फालेकी हुन कारण भने खुलेको छैन । तर उनको केही दिनदेखि मानसिक अवस्था ठिक नभएको थलारा गाउँपालिका ४ का वडाध्यक्ष रामचन्द्र जोशीले सुदूर खबरलाई जानकारी दिए । अध्यक्ष जोशीले भने केही दिनयता साउँदमा आफै एक्लै हास्ने जस्ता विभिन्न लक्षण देखा पारेका थिए । साउँद बिहीबार आज बिहानै घर बाट उठेर निस्किएकी थिइन्, उनको पछाडी घरका सदस्य आएको भएपनि छोप्न नसकेको र यो घटना घटेको अध्यक्ष जोशीको भनाई छ । अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ । मृतक साउँदको घरमा २ छोरा र १ छोरी रहेका छन ।
































