
धनगढी ः सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले डोटी सिलगढीमा आयोजना गरेको बहुभाषिक अन्तराष्ट्रिय साहित्य सम्मेलनको पूर्व सन्थ्यामा बिहीबार साहित्यिक साँझको आयोजना गरिएको छ। सिलगढीस्थित सुदूरपश्चिम अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सभाकक्षमा नेपाली लेखक संघ डोटीको समन्वयमा प्रज्ञा-प्रतिष्ठानले साहित्यिक साँझ आयोजना गरेको हो ।
प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीको सभापतित्वमा भएको साहित्यिक साँझमा सुदूरपश्चिमका नौवटै जिल्लाका स्रष्टाहरू र छिमेकी मुलुक भारतबाट समेत साहित्यकारहरूको उपस्थिति थियो। सो अवसरमा बोल्दै उपकुलपति डा. जोशीले सांस्कृतिक तथा ऐतिहासिक नगर शिलगढीमा पहिलो पटक अन्तराष्ट्रिय बहुभाषिक साहित्यिक सम्मेलन आयोजना गरिएको बताए ।

उपकुलपति जोशीले डोटी एक सांस्कृतिक बैभव र सभ्यताको जननी भएको बताए। कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका मेयर बिजय खड्काले स्रष्टाहरूलाई डोटीमा स्वागत गर्दे डोटीको विकासका लागि आफूहरू लागिरहेको बताए। साहित्यिक साँझमा साहित्यकारहरू यज्ञराज पाठक, हरिश जोशी, वीरबहादूर चन्द, धर्मराज जोशी, लक्ष्मी राना, सागर कुश्मी, पिङ्की बोहरा, गेहेन्द्र बम, तोयानाथ भट्ट, फणेन्द्र साउद ,बिष्णु केसी लगायत भारतीय स्रष्टाले बहुभाषिक रचना सुनाएका थिए।
































