
बझाङः माघ २२ गते देखि बझाङमा पनि एकै साथ सुरु गरिएको एचपीभी खोप अभियान अन्तर्गत १२ हजार १ सय २४जना बालिकाहरुले उक्त खोप लगाएका छन् । १२ हजार १ सय २८ लाई खोप लगाउनु पर्ने लक्ष्य स्वास्थ्य कार्यलयको राखेको थियो ।


जिल्ला स्वास्थ्य कार्यालयका बझाङका अनुसार, जिल्लाका १२ ओटै पालिकामा खोप अभियान सम्पन्न भएको हो । जिल्लामा १००% (प्रतिशत) बालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । छुटेकाहरुलाई भने स्वास्थ्य कार्यालयमा फागुन ६ गते सम्म पनि खोप लगाउने भएको छ । स्वास्थ्य कार्यालय बझाङका प्रमुख लाल बहादुर धामिका अनुसार, कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समुहका किशोरीहरुलाई खोप लगाइएको हो ।

पाठेघरको मुखको क्यान्सर विरुद्ध देशभर संचालित खोप अभियान बझाङमा पनि सञ्चालन गरिएको हो । जस अन्तर्गत थलारा गाउँपालिकामा ९९.७७ प्रतिशत अर्थात ८ सय ९६ , जयपृथ्वी नगरपालिकाले १३ सय ९५ जना लक्षित समुह रहेकोमा १ हजार ४ सय ५१ ले खोप लगाएका छन् । अर्थात नगरपालिकामा १०४% जनाले खोप लगाएका छन् ।

यस्तै साईपाल गाउँपालिकामा १०० %, अर्थात १ सय ७४, तलकोट गाउँपालिकामा १००% अर्थात ८ सय २५,सुर्मा गाउँपालिकामा १००% अर्थात ५ सय ७९, बुंगल नगरपालिकामा ९७% अर्थात २ हजार, मष्टा गाउँपालिकामा १००% अर्थात ९ सय १०, छविसपाथिभेरा गाउँपालिकामा १००% अर्थात ७ सय ३७, दुर्गाथली गाउँपालिकामा १००% अर्थात ७ सय ६१,केदारस्युँ गाउँपालिकामा पनी १००%अर्थात १ हजार ६४१ जनाले खोप लगाएका छन् ।

यस्र्तै विथ्थडचिर गाउँपालिकाले समेत १००% अथवा १ हजार २ सय ५१ र खप्तडछान्ना गाउँपालिकामा १००% अर्थात ८ सय ९६ जना किशोरीहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख धामीले जानकारी दिए ।
जिल्ला भरीका १२ हजार १ सय २८ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेकोमा १२ हजार १ सय २४ जना अर्थात ९९.९६% ले खोप लगाएका छन् ।
पाठेघरको मुखको क्यान्सर भएर पनी पिडा लुकाई राख्ने कारणले समाजमा महिलाहरुले अकालमानै ज्यान गुमाउनु पर्ने जटिल समस्याहरु बाट यो खोपले छुटकारा दिलाउनमा ठुलो योगदान पुर्याउने भैरव मावि झोताका प्रधानाध्यापक शान्ति बोहराले बताईन् । उनले , पाठेघरको समस्या भएका महिलाहरु वा किशोरीहरु भन्न लजाउने र अफ्टेरो मान्ने भएका कारण रोगको उपचार गराउनुको सट्टा रोगलाई लुकाएर बस्ने प्रवृति धेरै छ ।
जसका कारण पाठेघरमा विभिन्न सक्रमण भएर पाठेघरको नै शल्यक्रिया गर्नु पर्ने, पाठेघर फाल्नु पर्ने जस्ता जटिल समस्याहरुको सिकार महिला तथा किशोरीहरुले हुनु परेको बताईन् । सरकारले गरेको यो अभियानले किशोरीहरुलाई ठुलो सहयोग पुग्ने उहाँले बताईन् । प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अभियानको अनुगमन तथा ल निरीक्षण समेत गरेको छ । विद्यालय उमेर समुहका किशोरीहरु र विद्यालय भन्दा बाहिर रहेका किशोरीहरुको खोप लगाउनमा सक्रियता आफुहरुले राम्रो पाएको बताए ।


































