
धनगढी ः नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा भोलि फागुन ८ देखि धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ। प्रादेशिक प्रदर्शनीका लागि प्रदेशका डेण सय भन्दा बढी कलाकारका कला कृति दर्ता भैसकेको सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले बताए।

सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको कार्यालय हसनपुरमा हुने ललितकला प्रदर्शनीको भोलि ८ गते दिउसो १ बजे उदघाटन हुने उपकुलपति जोशीले बताए। पाँच दिनसम्म हुने प्रदर्शनी फागुन ८ देखि १२ गतेसम्म बिहान १० बजेदेखि पाँच बजेसम्म अवलोकन गर्न सकिने आयोजकले जनाएको छ। प्रदर्शनीमा सुदूरपश्चिमका चित्रकला, मूर्तीकला, लोककला र हस्तकलाको प्रदर्शनी हुने जनाइएको छ।

सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद डा. टीएन जोशीले सुदूरपश्चिम प्रदेशमा ललितकलाको विकास पछाडि परेकोले गतवर्षबाट नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानसंगको सहकार्यमा प्रादेशिक प्रदर्शनी शुरू गरिएको बताए। उपकुलपति जोशीले प्रदर्शनी अवलोकनका लागि सबै सरोकारवाला, शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी, कलाकार, स्रष्टा, राजनीतिकर्मी, समाजसेवी सबैलाई आमन्त्रण गरेका छन्।
































