
धनगढी ः बुधबार धनगढीमा प्रजातन्त्र दिवस , २०८१ मनाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा प्रभातफेरि लगायतका कार्यक्रमको आयोजना गरीएको थियो ।
धनगढीको शहिदगेटदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरि निकालिएकोे थियो । प्रभातफेरिमा बाँजागाँजासहित सुदूरपश्चिम प्रदेशका विविध सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो । प्रभातफेरिमा थारु समुदायको सखिया नाच लगाएत त्यस्तै, प्रभातफेरिमा नेपाली सेनाको व्याण्ड, विभिन्न विद्यालय तथा विभिन्न संस्घसंस्थाका झाँकी पनि समावेश थिए ।
प्रभातफेरिपछि मन्त्रालयमा आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रिय झण्डोत्तलन गरेका थिए । सो अवसरमा नेपाली सेनाको ब्याण्डले राष्ट्रिय धुन बजाएको थियो ।
कार्यक्रममा लोकतन्त्र प्राप्ती र पुनःप्राप्तीका लागि भएगरेका संघर्षमा प्राणआहुती गरेका वीर शहीदहरूको सम्मानमा मौन धारणसहित शहिदहरुको तस्बिरमा मल्र्यापण गरियो ।
समारोह प्रजातन्त्र दिवस दिवस मुल आयोजक समितिका अध्यक्ष तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको थियो । सो अवसरमा मुख्यमन्त्री शाहले प्रजातन्त्र नेपाली नागरिकको जीवनशैली, जीवन पद्धतिका रूपमा स्थापित गर्नुपर्ने बताए ।
मुख्यमन्त्री शाहले प्रजातन्त्र बलियो बनाउन, समाजवाद ल्याउन प्रदेश सरकारले जनतालाई अनुभूति हुने गरी गुणस्तरीय विकासको काम गरिरहेको दाबी गरे ।
प्रजातन्त्र दिवसले दिगो विकास, सुशासन कायम गर्न प्रेरणा दिने बताउँदै नागरिकको जीवनस्तर उकास्न सधैँ प्रयत्नशील रहने उनले बताए । प्रजातन्त्र बलियो बनाउन तीनै तहका सरकारबिच समन्वयको जरुरी रहेको औँल्याउँदै मुख्यमन्त्री शाहले त्यसका लागि प्रदेश सरकार सधैँ तत्पर रहेको चर्चा गरे ।
कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू लगायतको उपस्थिति थियो ।
समारोहमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।


सुदूरपश्चिम प्रदेश सरकारले प्रजातन्त्र दिवस दिवस, २०८१ का अवसरमा दुई दिनसम्म दिपावली सहितका कार्यक्रम आयोजना गर्ने निर्णय गरे अनुरुप धनगढीसहित प्रदेशका सबै जिल्लामा कार्यक्रम भइरहेका छन् ।
यस क्रममा मंगलबार प्रदेशका सबै मन्त्रालय, सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराइएका थिए । संविधान दिवसका अवसरमा मंगलबारदेखि बुधबारसम्म मन्त्रालय तथा सबै सरकारी कार्यालयहरूमा दिपावली गर्ने निर्णय गरिएको छ ।

































