
अत्तरिया: गोदावरी नगरपालिका वडा नं २ स्थित लक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) द्वारा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्ववियु सभापति भुवन महराको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए।


कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई अबिर टिका लगाएर स्वागत गरिनुका साथै गीत, नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेर कार्यक्रमलाई झनै आकर्षक बनाएका थिए।
नगर प्रमुख बिरेन्द्र भट्टले स्वागत कार्यक्रममा सम्बोधन गर्दै लक्ष्मी बहुमुखी क्याम्पसको विकासमा आफ्नो भूमिकाबारे चर्चा गरे। उनले भने, “१२ वर्षसम्म क्याम्पस व्यवस्थापन समितिको अध्यक्षका रूपमा कार्य गर्दा यस संस्थालाई मजबुत बनाउने प्रयास गरियो। अहिले हजारौं विद्यार्थीहरूले यहीँ बसेर उच्च शिक्षा हासिल गरिरहेका छन्, जुन हामी सबैका लागि गौरवको विषय हो।”

उनले विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै थपे, “तपाईंहरू भाग्यशाली विद्यार्थी हुनुहुन्छ, किनकि सुदूरपश्चिम प्रदेशको एक महत्वपूर्ण शैक्षिक केन्द्रमा अध्ययन गर्ने अवसर पाउनु भएको छ। अहिलेको मेहनतले तपाईंहरूको भविष्य निर्माण गर्छ, त्यसैले शिक्षालाई आफ्नो पहिलो प्राथमिकता बनाउनुहोस्। नगरपालिकाले शिक्षाको गुणस्तर सुधार्न सक्दो सहयोग गर्नेछ।”

नगर प्रमुख भट्टले क्याम्पसलाई अझ परिस्कृत बनाउन नगरपालिका स्तरबाट आवश्यक बजेट तथा अन्य सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, विद्यार्थीहरूलाई सिर्जनशील, अनुशासित र जिम्मेवार नागरिक बन्न आग्रह गर्दै आफ्नो मन्तव्य समाप्त गरे।
नगर प्रमुख भट्टले क्याम्पससँगको आफ्नो सम्बन्धलाई भावनात्मक रूपमा व्यक्त गर्दै भने, “यस क्याम्पसमा आउँदा आफ्नै घरमा आएको जस्तो अनुभूति हुन्छ। यहाँको वातावरण र विद्यार्थीहरूको जोश देख्दा मलाई अत्यन्तै खुशी लाग्छ। यस क्याम्पसको विकासका लागि मेरो सहयोग सधैं रहनेछ।”

स्ववियु सभापति भुवन महराले विद्यार्थीहरूको हकहित र क्याम्पसको समग्र विकासका लागि आफू र आफ्नो टिम निरन्तर क्रियाशील रहने बताए। उनले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै भने, “तपाईंहरू सबैले लक्ष्मी बहुमुखी क्याम्पसलाई आफ्नो दोस्रो घर सम्झनुहोस्। यहाँको अध्ययन वातावरण, शैक्षिक गुणस्तर र विद्यार्थीहरूका लागि उपलब्ध सुविधाहरूलाई अझ प्रभावकारी बनाउने जिम्मेवारी हामी सबैको हो। स्ववियु विद्यार्थीहरूको हक-अधिकारको संरक्षण मात्र होइन, क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि पनि प्रतिबद्ध रहन्छ।”

उनले विद्यार्थीहरूलाई अनुशासित भई मेहनतका साथ अध्ययन गर्न प्रेरित गर्दै भने, “उच्च शिक्षा तपाईंहरूको उज्ज्वल भविष्यको आधारशिला हो। लक्ष्य पहिल्याएर अडिग रूपमा लागेमा सफलता निश्चित छ। कुनै समस्या परेमा हामी सधैं तपाईंहरूको साथमा छौं।”

कार्यक्रममा नवआगन्तुक विद्यार्थीसँगै सबै संकायका सबै सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो। यो सँगै स्वागत कार्यक्रमको जिम्मेवारी स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी र क्याम्पसमा दोस्रो र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले लिएका थिए ।

































