
डोटी: डोटीको जोरायल गाउँपालिका वडा नं. ४ काफली गाउँका महिलाहरु महिनावारी भएको बेला सुरक्षित घरभित्र बस्न थालेपछि २८ जनालाई जोरायल गाउँपालिकाले सम्मान गरेको छ । महिनावारी भएको बेला घर बाहिर ढिकीको छाप्रोमा सुत्ने गरेकामा हाल सुरक्षित घरभित्र बस्न थालेपछि ब्लाङ्केट प्रदान गरी सम्मान गरिएको हो ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जुमना बोहरा, प्रमूख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, वडा नं. ४ का वडा अध्यक्ष नन्दराज भट्ट लगाएत जनप्रतिधि र कर्मचारीहरुको टोली गाउँमै पुगेर सम्मान स्वरुप ब्लाङ्केट वितरण गरेको जोरायल गाउँपालिकाका रोजगार संयोजक डम्बर बोहराले जानकारी दिए ।


जोरायल गाउँपालिकाले छाउपडी प्रथाको अन्त्यका लागि निरन्तर काम गर्दै आएको र यस अभियानमा सहयोग गरेकोमा महिलाहरुलाई प्रोत्साहन तथा सम्मान गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । केहि ठाउँमा अझै पनि छाउपडीको समस्या रहेको देखिएकाले गाउँपालिकाले छिट्टै ति क्षेत्रमा पनि सुधार गर्ने गरी काम भैरहेको अध्यक्ष ओझाले बताए ।
महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत काफली गाउँका २८ महिलाहरुलाई ब्लाङ्केट दिएर सम्मानित गरेको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताईन् । श्रोतका अनुसार उक्त काफली गाउँमा केहि परिवारका महिलाहरु महिनाबारी भएको बेला अँझै पनि घर बाहिर ढिकीको छाप्रोमा बस्ने गरेको बुझिएको छ ।
उता वडा नं. ६ को गाबर, बगिडा र डाँडागाउँ टोलका गरी १२१ जनालाई पनि केहि दिनभित्रै यसैगरी ब्लाङ्केट प्रदान गरी सम्मान गर्ने कार्यक्रम रहेको सो वडाका अध्यक्ष गणेश बोहराले जानकारी दिए ।
महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत वडा नं. ४ र ६ मा छाउपडी प्रथामुक्त टोल घोषणा तथा ब्लाङ्केट वितरण कार्यक्रम र वडा नं. १, २, ३ र ५ मा लागु औषध, न्यायिक समितिबारे जानकारी, महिला हिंसा, घरेलु हिंसा, बालविवाह, बहुविवाह न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भैरहेको उनले जानकारी दिईन् ।
परम्परागत सामाजिक तथा धार्मिक मान्यता र सचेतना अभावका कारण जोरायल गाउँपालिकाभित्र वडा नं. ४ को नकु, वडा नं. २ को उल्जे, मेलखोला लगाएतका केहि गाउँमा अँझै पनि छाउपडी गोठ कायमै रहेका छन् ।






























