
डोटी: कृषियोग्य क्षेत्र मानिने डोटीको जोरायलमा नदि किनारको जमीन अर्थात बलौटे जग्गामा ‘बगर खेती परीक्षण’ गरिने भएको छ ।

कृषियोग्य भूमि कर्नासा नदीले कटान गर्नुका साथै बाढीले बालुवा थुपारेर बगरमा परिणत भएको जोरायल गाउँपालिका वडा नं. ४ भजना र ओरडे नजिकैको जमीनमा ‘बगर खेती परीक्षण’ गर्न लागिएको हो ।
जोरायल गाउँपालिकाको विशेष गरी वडा नं. ३ र ४ को ठूलो मात्रामा कृषियोग्य जमीन नदीको कटान र बाढीका कारण बगरमा परिणत हुँदै आएकोले सो बगरलाई सदुपयोग गर्न जोरायल गाउँपालिकाले बगर खेतीको अवधारणालाई अगाडी सार्ने तयारी गरेको हो ।


बाँझो जमीनको सदयुपयोग पनि हुने, कामका लागि भारत लगाएत अन्य देशमा विदेशिनुभन्दा स्थानीय स्तरमै कृषि उत्पादनसँग जोडिएर स्वरोजगार एवं आत्मनिर्भर बनाउने उद्धेश्यले बगर खेती कार्यक्रमलाई अगाडी बढाउन खोजिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

जसका लागि आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममै समावेश गरेर `जग्गा भाडामा लिई व्यवसायिक खेती गर्ने लक्षित समुदायका कृषकहरुलाई अनुदान उपलब्ध गराउने कार्यविधी २०८१´ र `बाँझो जमीनमा करार खेती कार्यान्वयन कार्यविधी २०८१´ पास गरिसकेको छ ।
कार्यविधी अनुसार विभिन्न स्थानीय किसानहरुको ४१ रोपनी ७ आना ७ दाम ७ पैसा क्षेत्रफलको बाँझो रहेको नदी तटीय जमीन १० वर्षका लागि भाडामा लिने गरी जोरायल गाउँपालिकाले जग्गाधनीसँग द्विपक्षीय सम्झौता समेत गरिसकेको छ । जसका लागि प्रति रोपनी २ हजार ५ सयका दरले २ लाख ७ हजार १ सय ८७ रुपैयाँ मात्र दुई वर्षको अग्रिम जग्गा भाडा वाफतको रकम जग्गा धनिहरुलाई उपलब्ध गराई सकिएको जोरायल गाउँपालिका, कृषि विकास शाखामा कार्यरत नायब प्राविधिक सहायक चन्द्र बहादुर सार्कीले जानकारी दिए ।

जोरायल गाउँपालिकाको चालु आ.व.२०८१/०८२ को बिनियोजित बजेटबाट यस वर्ष पहिलो चरणमा २ रोपनी जमीनमा बगर खेती गर्ने गरी पूर्ण तयारी गरिसकेको उनले बताए । तर्भुजा, काँक्रा, करेला, फर्सी, खर्भुजा आदि लहरे बालीहरु लगाउने तयारीका साथ जमीन घेरवार, खनजोत गर्ने काम भईसकेको एवं तर्भुजा र खर्भुजाको बेर्ना जोरायल गाउँपालिका कृषि विकास शाखाले प्राविधिकको निगरानीमा उमारेर रोप्न योग्य भईसकेको छ ।
भजना र ओरडे टोलका किसानहरुलाई समेटी गठन गरिएको नौलो बिहानी पशुपंक्षी तथा माछापालन कृषक समूहमा आवद्ध ३५ घरधुरीले बगर खेती गर्ने गरि गाउँपालिकासँग सम्झौता गर्ने तयारी भईरहेको जनाईएको छ ।

हाललाई गाउँपालिकाले बिउँबिजन लगाएत अन्य सामाग्रिहरु उपलब्ध गराउने र आगामी वर्षहरुमा कृषक समूहले उत्पादन गरेका कृषि उपजहरु विक्रिवितरण गरी बदाम, बासमती धान लगाएतका बिउँविजनको आफै व्यवस्था गर्ने तथा नयाँ प्रजातिका बिउँबिजन र अन्य कार्यक्रमका लागि जोरायल गाउँपालिकाले सहयोग गर्ने जनाइएको छ ।

पहाडी क्षेत्रमा तर्भुजा, खर्भुजा लगाएतको बगर खेतीको प्रयोग नयाँ भएकाले के कति सफलता मिल्छ त्यो उत्पादन भएपश्चात मात्रै थाहा हुने जोरायल गाउँपालिका, कृषि विकास शाखा प्रमूख प्रदिप साउँदले बताए ।
जोरायल क्षेत्रमा कृषिको प्राविधिक दृष्टिकोणले उपयुक्त भौगोलिक बनावट भएता पनि फाल्गुन पहिलो सातासम्म तुषारो पर्ने भएकाले गुमोज तथा हाईटेक प्रविधीको ठूलो पोलिहाउसमा यस क्षेत्रमा बगर खेती कार्यक्रम सफल हुनसक्ने शाखा प्रमूख प्रदिप साउँदको अनुमान छ ।

तथापी यो वर्ष ६ प्रजातिका तर्भुजा र खर्भुजाको बिउँ परीक्षणका रुपमा लगाइने र जसको उत्पादन तथा गुणस्तर राम्रो देखिन्छ त्यसलाई आउँदो वर्षमा खेती बिस्तार गरिने साउँदले बताए ।
जोरायल गाउँपालिकाको विशेष गरी वडा नं. ३ र ४ को नदी तटीय क्षेत्रमा बगर खेतीको सम्भावना रहेको छ ।































