
डोटी: डोटीका एक वडा अध्यक्षले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई ‘ब्लड बैंक स्थापना’ गरिदिन माग गर्दै सोमबार ज्ञापन पत्र पेश गरेका छन् ।
दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासीले डोटीका प्रमूख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई ज्ञापन पत्र पठाएका हुन् ।

डोटी सँगै अछाम, बाजुरा र डडेल्धुरा जिल्ला समेत प्रत्यक्ष लाभान्वित हुने गरी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सम्बोधन हुने गरी आवश्यक जनशक्ति सहित सुविधायुक्त ब्लड बैंक स्थापना गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
आकस्मिक दुर्घटना, सुत्केरी महिलाको अप्रेशन गर्दा रगत चाहिने अवस्था भएमा र रक्त अल्पताका बिरामीहरुका लागि आकस्मिक रगत चाहिएमा सहजै नपाईने समस्या रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
ऐतिहासिक राणाकालिन गौणा हुँदै सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको जिल्ला संघीयतामा जाँदा राजधानी कैलाली सरेपछि विकासमा पनि पछाडी पर्दै गएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
डोटीमा नेपाल रेडक्रस सोसाइटीले वि.सं. २०६३ बैशाख २५ गते आपतकालिन रक्त सञ्चार केन्द्र स्थापना गरी सेवा दिंदै आएको छ । यद्यपी आवश्यक प्राविधिक जनशक्ति, यन्त्र उपकरण सहितको सुविधा अभावले बेला बेलामा आवश्यक पर्ने सबै ग्रुपको रगत पाउन कठिनाई कायमै रहेको छ ।


यसै अवस्थामा डोटेली जनताको स्वास्थ्यलाई मध्येनजर गर्दै माग सम्बोधन हुने वडा अध्यक्ष मलासीले ज्ञापन पत्रमार्फत विश्वास लिएको बताएका छन् ।
ज्ञापन पत्र बुझेपछि प्रतिक्रिया दिंदै डोटीका प्रमुख जिल्ला अधिकारी जोशीले वडा अध्यक्षले पेश गरेको ज्ञापन पत्र तत्कालै मन्त्री ज्यू समक्ष पुग्ने गरी पठाईने बताए ।
साथै स्वास्थ्य क्षेत्रमा सुधारका लागि एकल प्रयास नभई तीन तहका सरकार र सरोकारवाला सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।





























