
बझाङः बझाङको बुङगल नगरपालिकाकी एक सुत्केरी महिलाको ज्यान सशस्त्र प्रहरीका डिएसपीको मानवीय सहयोगबाट जोगिएको छ । बुङगल नगरपालिका वडा नम्बर ७ की ३५ बर्षिया मधुरा जाग्री बझाङ जिल्ला अस्पतालमा सुत्केरी पीडाबाट छटपटाइरहेकी थिइन्।

सात छोरीकी आमा जाग्री यस पटक अपरेसन मार्फत शिशु जन्माउन अस्पतालमा पुगेकी हुन तर अपरेसनको बेला रगतको आपूर्ति नहुँदा अवस्था जटिल बन्दै गएको थियो ।
अस्पतालका प्रमुख डाक्टर नवराज जोशीले रगतको आवश्यकताको जानकारी दिएपछि जाग्रीका श्रीमान तनावमा परेका थिए । यद्यपि डाक्टर जोशीले आफैँ रगत दिने आश्वासन पनि दिएका थिए। यसैबिच, जाग्रीका श्रीमानले सशस्त्र प्रहरी बल बझाङका डिएसपी दुर्गा प्रसाद भट्टलाई पनि फोन गरेर सहयोग मागेका थिए ।


संयोगवश, डिएसपी भट्टको रगत मिल्ने भएपछि उहाँले तुरुन्तै जिल्ला अस्पताल पुगेर रक्तदान गर्नुभयो। डिएसपी भट्टको रक्तदानपछि डाक्टर जोशीको नेतृत्वमा सफल अपरेसन सम्पन्न भएको छ । जाग्रीले एक छोरालाई जन्म दिएकी छन् ।
लगातार सात छोरीपछि जन्मिएको छोराले मात्र होइन, ज्यान जोगिएकोमा पनि परिवार निकै खुसी देखिएको छ। डाक्टर जोशी र डिएसपी भट्टप्रति आभार व्यक्त गर्दै जाग्रीका श्रीमानले “डाक्टर जोशी भगवान साबित भएको बताएका छन् । अहिले सुत्केरी जाग्रीको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर जोशीले बताएका छन्।


















