
बझाङ जिल्ला प्रशासन कार्यालयको आयोजनामा आज सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकमा जिल्लाका समसामयिक विषयहरू, विपद् व्यवस्थापन, मदिरा नियन्त्रण, तथा सञ्चार प्रणाली सुदृढीकरणका सम्बन्धमा गम्भीर छलफल गरिएको छ।

बैठकमा विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउने, विद्युत् तथा सञ्चार सेवा नियमित गर्ने र समन्वयात्मक रूपले कार्य अघि बढाउने निर्णय भएको जनाइएको छ । साथै, जिल्लामा मदिरा सेवनका कारण महिला हिंसा तथा सामाजिक झैझगडा बढ्दै गएको प्रति चासो व्यक्त गर्दै मदिरा नियन्त्रणको आवश्यकता माथि विशेष जोड दिइएको थियो। जिल्ला प्रशासन कार्यालयले यस्ता छलफल कार्यक्रमबाट जिल्लामा विपद् व्यवस्थापनको रणनीति थप सुदृढ हुने विश्वास लिएको जनाएको छ।

यस्तै बझाङमा घरेलु मदिरा र निम्नस्तरको मदिराका कारण सामाजिक विकृति फैलिएको भन्दै सर्वपक्षीय चाँसो बढेको छ । कार्यक्रममा आज सबै स्थानीय तहका जनप्रतिनिधि मदिरा नियमन गर्न सकारात्मक देखिएका छन् । यसैबिच सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बझाङमा मदिरा नियन्त्रण गर्नैपर्ने र यसमा सबै निकायले जोडतोड हातेमालो गरि अघि बढ्नैपर्नेमा जोड दिनुभएको छ

प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीको अध्यक्षतामा बसेको उक्त बैठकमा जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।



















