कर्जा असुली व्यवस्थापन तालिम धनगढीमा सम्पन्न

Image
Nisarga Hospital

धनगढीः कर्जा असुली प्रक्रियालाई सशक्त बनाउनका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेड, साखा कार्यालय धनगढीको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न उक्त तालिममा जिल्लाका विभिन्न सहकारी संस्थाका ४५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।  तालिममा सहकारी संस्था सञ्चालक, व्यवस्थापक, ऋण उपसमिति सदस्य, ऋण परिचालक, कर्मचारी तथा सहजकर्ताहरू सहभागी थिए। तालिममा असुली हुन नसक्नुका कारण, नीतिगत र प्रक्रियागत सुधार, कर्जा वर्गीकरण, ऋण नोक्सानी व्यवस्थापन, मासिक असुली प्रक्रिया र प्रतिवेदन तयारीका विषयमा विस्तृत प्रशिक्षण दिइएको हो ।

CP Hospital Dhangadhi
Attariya Hospital

कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि दान बहादुर रावलले सहकारी संस्थाहरू कर्जा असुलीमा गम्भीर चुनौतीमा परेको बताए । कर्जा वितरण गर्दा गरिब, निमुखा र सिमान्तकृतलाई लक्षित गरिए पनि अहिले तिनै सदस्यहरूले इमानदारिता देखाउन नसकेको उनले बताए । उनले धितोयुक्त कर्जा समेत असुलीमा कठिनाइ देखिएको र कानुनी प्रक्रियालाई प्रभावकारी बनाउन राज्य र स्थानीय तहको समन्वय आवश्यक रहेको उल्लेख गरेका छन् । कार्यक्रममा गौरीगंगा नगरपालिकाका उप-प्रमुख तथा राष्ट्रिय सहकारी महासंघका पूर्व सन्चालक भोजबहादुर बमले सहकारीले समाजमा महत्वपूर्ण योगदान दिँदै आएको भए पनि राज्यको दृष्टिकोण र अनुगमन प्रणाली कमजोर भएको कारण समस्याहरू बढेको बताए । सहकारी क्षेत्रले देशको आर्थिक समृद्धिमा ठूलो योगदान दिइरहेपनी अझै पनि नीति र कार्यान्वयनबीच समस्या रहेको वताए । तालिममा मन्तव्य दिंदै सहकारी विज्ञ मनमोहन बिष्टले कर्जा लगानीको प्रारम्भमै कमजोरी भएको स्वीकार गरे । धितो मूल्यांकन नगरी,मन जमानी र कागजपत्रविना ऋण दिनु अहिलेको समस्याको मूल कारण रहेको उनले बताए । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख दिनेश गेलालले सहकारी संस्थाहरूको स्तरीकरण, प्रवद्र्धन र सशक्तीकरणका लागि बैंकले तालिम, काउन्सेलिङ र सहजीकरण कार्य गर्दै आएको जानकारी दिए। “कानुनी व्यवस्था र सहजीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा सहकारी संस्थाहरू स्वावलम्बी र सवल बन्न सक्ने उनले बताए । तालिममा सहभागीहरूले सहकारीको कर्जा व्यवस्थापन सुधारका लागि तालिम उपयोगी रहेको प्रतिक्रिया दिएका छन् ।

nawajiwan