
छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ बगड गाउँमा स्वर्गीय आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको सम्झनामा चौतारा निर्माण गरिएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत जयपृथ्वी राजमार्ग अन्तर्गत सडक छेउमा निर्माण गरिएको उक्त चौतारा यात्रुहरूलाई घाम तथा पानीबाट जोगिन राहत पुग्ने वडा नम्बर १ का वडा अध्यक्ष करनजङ बहादुर सिंहले बताउनु भयो ।

मन्त्री पदमा नियुक्त भएपछि पहिलो पटक आफ्ना मतदातालाई खुसी बाँड्ने तथा कुल देवताको पूजा गर्ने, कार्यालय प्रमुखहरूलाई निर्देशन दिन तथा विकास निर्माणका कार्यहरूको अनुगमन गर्न २०८० साल असार ५ गते बझाङ आउँदै गर्दा जयपृथ्वी राजमार्गको धारछरा भन्ने स्थानमा भएको सडक दुर्घटनामा मन्त्री सिंहकी श्रीमती र भाउजूको निधन भएको थियो ।

उक्त दुःखद घटनालाई सम्झेर गाउँपालिकाले उहाँको सम्झनामा यो चौतारा निर्माण गरेको हो। चौतारा यात्रुहरूका लागि विश्राम स्थलको रूपमा उपयोगी हुने वडा अध्यक्ष सिंहको भनाइ रहेको छ ।




















