
कैलालीको गोदावरी नगरपालिका अन्तरगत अत्तरिया बजार क्षेत्रमा सडक नाली सरसफाई तथा व्यवस्थापनको कार्यलाई तिव्रता दिइएको छ। स्थानीय बासिन्दाको स्वास्थ्य, यातायात सुविधा र बजारको समग्र स्वरूपलाई ध्यानमा राख्दै यो अभियानलाई योजनाबद्ध रूपमा अगाडि बढाइएको हो।



यस कार्यका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट सँगै सडक डिभिजन कार्यालय महेन्द्रनगरका ईन्जिनियर चित्र चौलागाईंको नेतृत्वमा प्राविधिक टोलीले आज स्थलगत अनुगमन तथा प्रारम्भिक अध्ययन गरेको छ। टोलीले बजार क्षेत्रमा रहेका अव्यवस्थित तथा अवरुद्ध नालीहरूको अवस्था, ढल निकास प्रणाली, र सम्भावित सुधारका क्षेत्रहरूबारे गम्भीर रूपमा अवलोकन गरेको छ। अबलोकन पश्चात सडक डिभिजन कार्यालयले आगामी साउनको पहिलो हप्ता भित्र ढक निकासका लागि ठेक्का खोल्ने र अत्तरिया बजार डुबानबाट निर्मुल बनाउने लक्ष्यका साथ अगाढी बढेको ईन्जिनियर चौलागाईले बताएका छन ।

तेसै गरी नगर प्रमुख बिरेन्द्र भट्टले पटक–पटक अत्तरियाको बजार क्षेत्र व्यवस्थित गर्न सडक डिभिजनसँग पहल गर्दै आएका थिए। तिनकै पहलमा आज यो कार्य औपचारिक रूपमा अगाडि बढाइएको हो। नगरपालिकाले यसअघि पनि बजार व्यवस्थापनका लागि सरसफाई अभियान सञ्चालन गर्दै आएको थियो, तर दीर्घकालीन सामाधानका लागि सडक डिभिजनको समन्वयमा प्राविधिकको नापजाँच पछि मात्र के कसरी अत्तरिया बजारमा पानीको निकास गर्न सकिन्छ भनि छलफल र केही दिनमा नै अत्तरिया चोक देखि महेन्द्रनगर सडकखण्डमा नालीको ढक्कनको व्यावस्थापन पनि गर्ने बताएका छन।


प्राविधिक टोलीको प्रारम्भिक रिपोर्टका आधारमा केही दिनभित्रै अत्तरिया बजार क्षेत्रअन्तर्गत महेन्द्रनगर सडक खण्डका सबै प्रमुख नालीहरूमा ढक्कन जडान गरिने जानकारी ई. चौलागाईंले बताएका छन । यसका साथै, सडक बोर्डसँगको समन्वयमा आवश्यक सडक निर्माण तथा सुधारको प्रक्रिया पनि अघि बढाइने योजना रहेको छ।

यस अभियानबाट अत्तरिया बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य लिइएको छ, जसले बजारको सुन्दरता र नागरिकको जीवनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।





























