
अत्तरियाः गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले आफूविरुद्ध लगाइएको राजनीतिक पूर्वाग्रहको आरोपलाई खारेज गर्दै, यदि कसैले फरक दलका प्रतिनिधिलाई बजेट नदिएको प्रमाण देखाए आफू तुरुन्त पद त्याग्न तयार रहेको घोषणा गरेका छन्।

बिहीबार गोदावरी नगरपालिका–१ मा सम्पन्न ९औँ वडा भेलालाई सम्बोधन गर्दै नगरप्रमुख भट्टले स्थानीय विकास दल, पद वा विचारभन्दा माथि उठेर सहकार्य र समन्वयबाट मात्र सम्भव हुने स्पष्ट पारे। उनले भने, “कसैले देखाइदिनुस् कि नेपाली कांग्रेसबाट निर्वाचित भएको कारण कसैलाई बजेट नदिएको छु, म अहिलेको अहिले राजीनामा दिन्छु।”


उनको भनाइमा, जनताको विश्वास बोकेर निर्वाचित भएको जिम्मेवारीप्रति आफू पूर्ण प्रतिबद्ध छन्। “विकासको अभियान भाषण वा कागजमा मात्रै सीमित हुँदैन, नागरिक आफैं नगरपालिका आएर सल्लाह, सुझाव र सहकार्यसहितको साझेदारी आवश्यक छ,” उनले जोड दिए।


भट्टले सीमित स्रोतसाधनबीच पनि विकास सम्भव हुने विश्वास व्यक्त गर्दै सबै नागरिकलाई धैर्यता, संयम र सहभागिताको अपिल गरे। “हामी सबै मिलेर योजना बनाऔं, कार्यान्वयनमा हातेमालो गरौं। हाम्रो शहर, हाम्रो उत्तरदायित्व हो,” उनले भने।

उनले आगामी आर्थिक वर्षमा कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, भौतिक पूर्वाधार विस्तार, सामाजिक क्षेत्रको सुदृढीकरण, डिजिटल सेवा र औद्योगिक विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

नगरप्रमुख भट्टले राजनीति होइन, परिणाममुखी कार्यसंस्कृतिमा विश्वास गर्नुपर्ने समय आएको बताए। “निर्वाचित प्रतिनिधिले मात्रै नगर बदल्न सक्दैन, सबै तहको सहकार्य आवश्यक छ,” भन्दै उनले सबैलाई सकारात्मक सोच र साझा दृष्टिकोणसहित अघि बढ्न आह्वान गरे।
गोदावरी-१ को १ करोड २० लाखको बजेट सार्वजनिक : पूर्वाधार, शिक्षा र स्वास्थ्यमा प्राथमिकता



















