रुपसकाडा´लाई `रुपसडाँडा´ बनाउने मन छ – कृषि ज्ञान केन्द्र प्रमुख अवस्थी

Image
Nisarga Hospital

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले जोरायल गाउँपालिका २ को गाउँ `रुपसकाडा´लाई `रुपसडाँडा´ बनाउने आफ्नो चाहना भएको बताएका छन् ।

CP Hospital Dhangadhi


रुपसकाडामा २०८१ माघदेखि शुरूवात गरिएको रुपस कृषक पाठशालाको २०८२ जेठ ११ गते आइतबार आयोजित कृषक दिवस तथा समापन कार्यक्रममा ज्ञान केन्द्र प्रमुख अवस्थीले यस्तो बताएका हुन् । उनलेे भने-“रुपस भनेको सुन्दर हो । यो रुपसकाडा गाउँ आफैंमा सुन्दर छ । भीमदत्त राजमार्गको बाटोमै पर्छ । यहाँका किसानले राम्रो मेहनत गरेका छन् । हामीले थप सहयोग बढाएर पुरै `रुपसकाडा´लाई तरकारीमय बनाएर `रुपसडाँडा´ बनाउने मन छ ।”

कुनै पनि कृषक पाठशालामा एकचोटी मात्रै सीप सिकाइने भए पनि रुपस कृषक पाठशालाले राम्रो गरेको देख्दा कृषि ज्ञान केन्द्रले गत वर्ष र यो वर्ष निरन्तर दुई चोटि पाठशाला संचालनमा सहयोग गरेको अवस्थीले बताए । बन्दा र काउलीमा आधारित रहेर ५ सय वर्गमिटर क्षेत्रफलमा संचालित पाठशालामा गत वर्ष ३५ पोका बिउँ प्रयोग गरिएको र उत्पादन निकै सन्तोषजनक पाइएकोले अब ७० पोका बिउँ रोप्ने गरि सहयोग गरिने कृषि ज्ञान केन्द्र प्रमुख अवस्थीले किसानहरुलाई जानकारी गराए ।
रुपसकाडामा बन्दा रोपेर फस्टाएको बारी लगाएत जिल्लाका अन्य उत्कृष्ट किसानको उत्पादन अवलोकन गर्ने गरि सुदूरपश्चिमका मुख्यमन्त्री, कृषि मन्त्री लगाएत उच्च तहका व्यक्तित्वहरुलाई किसानको बारीमा ल्याएर हौसला बढाउने आफ्नो योजना रहेको समेत उनलेे सुनाए ।

nawajiwan

Attariya Hospital


जेठ ११ गते नै जोरायल गाउँपालिका २ उल्जे गाउँमा संचालित उल्जे कृषक पाठशालाको पनि समापन गरिएको थियो । उल्जेमा किसानहरुले बजारको समस्या देखाएको तर रुपसकाडाको हकमा बजारको समेत समस्या नभएको पाइएको अवस्थीले बताए ।
कृषक पाठशालामा खेती गर्न जग्गाको तयारी देखि उत्पादन भित्र्याउने समयसम्म सहजकर्ता परिचालन गरि सीप सिकाउने गरिएको उनलेे बताए ।


पाठशालाको समापनमा बोल्दै जोरायल गाउँपालिका २ का वडा अध्यक्ष वीर बहादुर दर्लामीले जागरुक किसानहरुलाई सहयोग गर्न आफू सदैव तयार रहेको बताए । उनलेे भने-“एउटा चराको गुड हुन्छ । चल्लाहरु हुन्छन् । चल्लाले चारो खानको लागि माउले जताबाट भए पनि चारो खोजेर ल्याउँछ । त्यसको लागि चल्लाले भोक देखाउनुपर्छ । होइन, आनन्द सुतेर बस्ने हो भने माउले चारो पनि खोज्दैन । त्यस्तै किसानको लागि हामी जनप्रतिनिधिको पनि अभिभावकीय दायित्व हो । मेहनत गर्ने किसानको लागि हामी पनि सहयोग खोजीखोजी ल्याउँछौ ।”
जोरायल गाउँपालिका २ उल्जे टोलमा रहेको उल्जे कृषक पाठशाला र सोही वडाको रुपसकाडाको रुपस कृषक पाठशालाको दुईवटाकै २०८१ साल माघमा तयारी बैठक बाट सुरु गरी २०८२ साल जेष्ठ महिना को ११ गते कृषक दिवस मनाएर समापन गरिएको हो ।
उल्जे कृषक पाठशालामा सुधारिएको तरिका र परम्परागत कृषक तरिका प्रमुख प्लट रहेको कृषि ज्ञान केन्द्रका सहजकर्ता खडक मल्लले जानकारी दिए । जस मध्ये २५० वर्ग मिटरमा मल्चिङ प्रविधिबाट आलु लगाईएकोमा उत्पादन पनि राम्रो एवं रोग किरा रहित पाइएको तर कृषक तरिकाबाट लगाईएको आलुको उत्पादन कम हुनुका साथै रोग किराको प्रकोप पनि बढी देखिएको मल्लले बताए ।


स्वस्थ बिउँ रोप्ने वा प्रयोग गर्ने, नियमित खेतबारीको हेरचाह गर्ने, मित्र जीवको संरक्षण र सत्रु शत्रु जीवको व्यवस्थापन गर्ने, कृषकलाई दक्ष बनाउने कृषक पाठशालाका सिद्धान्त अनुसार १४ हप्तासम्म संचालित पाठशालामा सहभागी किसानहरुको केही मात्रामा भए पनि सीप र क्षमतामा विकास भएको पाइएको उनलेे बताए ।
त्यसैगरी रुपस कृषक पाठशालामा बन्दा र काउली बारे पाठशाला संचालन गरिएको उनलेे बताए । जम्मा ५०० वर्ग मिटर क्षेत्रफल जग्गामध्ये २५० वर्ग मिटरमा मल्चिङ प्रविधि र २५० वर्ग मिटर जग्गामा खरको मल्चिङ गरि तरकारी खेती लगाईयएको उनलेे बताए । जहाँ ४ वर्ग मिटरका प्लटमा एउटा बिना मलको, एउटा बिना सिँचाईको, एउटा गोबर मलको र एउटा रासायनिक मलको गरि फरकफरक परिक्षण प्लट राखिएका सहजकर्ता मल्लले जानकारी दिए ।
कृषक पाठशालामा आइपिएम टुल्सको विधीबाट विषादी रहित तरिकाले कृषकहरुलाई सीप सिकाइएको उनलेे बताए ।
उल्जे कृषक पाठशालाको तर्फबाट अध्यक्ष लालमती टमाटो र रुपस कृषक पाठशालाको तर्फबाट अध्यक्ष चन्द्रीका थापाले पाठशालामा भए गरेका कामहरूको बारेमा प्रतिवेदन पनि प्रस्तुत गरेका थिए । दुइ वटै पाठशालामा प्रथम, द्वितीय र तृतीय हुने कृषकलाई नगद तथा सम्मान पत्रले पुरस्कृत गरिएको थियो भने पाठशालामा सहभागी किसानलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै उल्जे कृषक पाठशालाका किसानहरुलाई ३० वटा हजारी र विभिन्न तरकारीको बिउँहरु समेत वितरण गरिएको थियो ।
कार्यक्रमका वडाका जनप्रतिनिधि, कृषि ज्ञान केन्द्रका कर्मचारी, पत्रकार र स्थानीय कृषकहरुको सहभागिता रहेकोे थियो ।