
अत्तरियाः सुदूरपश्चिम प्रदेशमा सबैभन्दा पहिला किसान सूचीकरण कार्यक्रम लागू गर्ने स्थानीय तहका रूपमा गोदावरी नगरपालिका स्थापित भएको छ। नगरपालिकाले १५,००० घरधुरीलाई किसान परिचय पत्र (कृषक कार्ड) वितरण गर्दै कृषिमा ऐतिहासिक पहल गरेको छ।

गोदावरी नगरपालिकाको कृषि शाखा प्रमुख नन्दी मल्लका अनुसार किसान सूचीकरण अन्तर्गत ठूला, साना, मझौला, सिमान्तकृत / भूमिहीन वर्गमा विभाजन गरी कृषक पहिचान गरिएको बताएकी छीन ।

यस पहलको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय कृषक समूह महासंघ, नेपालले गोदावरी नगरपालिकालाई कदर-पत्र प्रदान गरेको छ।
कदर–पत्र सुदूरपश्चिम प्रदेश कार्यसमिति संयोजक प्रकाश थापाले नगर प्रमुख बिरेन्द्र भट्टलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रम राष्ट्रिय कृषक समूह महासंघ, नेपाल र गोदावरी नगरपालिकाको सहकार्यमा सञ्चालित भएको हो, जसअन्तर्गत किसानहरूलाई कृषक कार्ड वितरण, बीउ–बिजन वितरण, तालिम तथा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
कदर पत्र ग्रहण गर्दै नगर प्रमुख बिरेन्द्र भट्टले भने, “कृषिलाई शिक्षा र स्वास्थ्यसँगै प्राथमिकतामा राख्दै, विशेषगरी भूमिहीन, साना तथा महिला किसानको जीवनस्तर सुधार गर्ने हाम्रो अभियानलाई राष्ट्रियस्तरमै कदर गरिएकोमा गर्व लागेको छ। किसानका हक–अधिकार स्थापनामा गोदावरी नगरपालिका अझ प्रतिबद्ध रहनेछ।”
“हामी कृषिमा केवल योजना होइन, व्यवहारमै परिवर्तन चाहन्छौं। किसानका समस्या बुझ्दै, समाधान खोज्दै अघि बढ्नेछौं। यो सम्मानले हामीलाई अझ प्रेरणा दिएको भट्टले बताएका छन ।”




















