
बझाङको बित्थडचिर गाउँपालिका–७ गैरीपोखरीमा रहेको एक गोठमा आगलागी हुँदा एक गाइ र तीन बाख्राको जलेर मृत्यु भएको छ।

आज बिहान करिब ४ बजे पूर्ण बहादुर खडकाको खरले छाएको एकतले गाईगोठमा आगलागी भएको हो। घरमा बालेको आगोबाट सल्केको आगो एक्कासि गोठमा फैलिँदा गाई, बाख्रा तथा गोरुहरु जलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

आगलागीमा परी गोठभित्र रहेका तीन बाख्रा र एक गाई जलेर मरेका छन् भने दुई गोरु र एक गाई घाइते भएका छन्। यद्यपि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागीबाट गोठको संरचनामा समेत क्षति पुगेको छ। विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।




























