
धनगढी ः स्वास्थ्य निर्देशनालय डोटीले स्वास्थ्य प्रवद्र्धनका लागि पैरवी कार्यक्रम गरेको छ । स्वास्थ्य कार्यलय कैलालीको समन्वयमा बुधबार धनगढीमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीसँग पैरवी कार्यक्रम गरेको हो ।

कार्यक्रममा स्वस्थ जीवन शैली र सुदूरपश्चिममा स्वास्थ्यको अवस्थाबारे प्रस्तुतिकरण गरिएको थियो । प्रादेशिक आयुर्वेद चिकित्सालयका आयुर्वेद चिकित्सक डा।ओमप्रकाश कलौनीले स्वस्थ जीवन शैली, आयुर्वेद उपचार विधि, उपयुक्त आहारलगायतका विषयमा प्रस्तुतिकरण राखेका थिए ।

उनले स्वस्थ रहन नियमित व्यायामसँगै योग पनि आवश्यक हुने बताए । शरीर स्वस्थ राख्न नियमित स्वास्थ्य परीक्षण, शारीरिक सक्रियता बढाउने, पोषणको सही छनोट, सन्तुलित आहारको प्रयोग, भोजनमा अन्नको नियन्त्रण, तनाव व्यवस्थापन लगायतमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।

मानिसले स्वस्थ्य रहनका लागि दैनिक आधा घण्टा पसना बग्ने गरी व्यायाम गर्नुपर्ने उनले बताए । उनले तनाव व्यवस्थापनका लागि व्यायाम आवश्यक रहेको औल्याए ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँदै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले स्वास्थ्य संस्थामा सुत्केरी हुने दर ७३ प्रतिशत मात्रै रहेको बताए । उनले १५ देखि १९ वर्षका गर्भवतीको संख्या १७ हजार पाँच सय १५ रहेको बताए । गर्भवती अवस्थामा आइरनचक्कीको खाने ५८ प्रतिशत, चार पटक गर्भजाँच गर्ने महिला ६१ प्रतिशत रहेको उनले बताए । उनले सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगाीहरुको अवस्था पनि चिन्ताजनक रहेको बताए ।

यस्तै प्रदेशमा परिवार नियोजनका साधान ४७ प्रतिशतले प्रयोग गर्ने गरेको, ८५ प्रतिशतले मात्रै सबै प्रकारका खोप पाएको, पछिल्लो समय नसर्ने रोगबाट बढी मानिसको मृत्यु हुने गरेको, २०८०्८१ मा अनुमान गरिएकामध्ये ५७ प्रतिशत क्षयरोगका बिरामी पत्ता लागेको उनले बताए ।
त्यस्तै,सुदूरपश्चि प्रदेशमा २३ प्रतिशत नागरिकमात्रै स्वास्थ्य बीमाको पहुँचमा भएको तथ्यांक उनले प्रस्तुत गरे । उनले प्रदेशभरी १९ वटा मात्रै सरकारी अस्पताल रहेको उनले जानकारी दिए । कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका निर्देशक डा। खगेन्द्र बमले स्वास्थ्यका बारेमा संवेदनशील हुनुपर्ने बताए । उनले भने ‘स्वास्थ्य सापेक्षित कुरा हो, शारीरिक अवस्था मात्रै नभएर मानसिक र सामाजिक पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।’
सुदूरपश्चिम स्वास्थ्यमा धेरै कुरामा सुधार भएपनि केही सूचकमा खस्केको उनले बताए । स्वास्थ्यमा आम नागरिकको पहुँच बढाउनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्ष भरत शाहले समर्ग स्वास्थ्य क्षेत्रमा भएका प्रगति, आवश्यक हुनुपर्ने कामका बारेमा संचारकर्मीले कलम चलाउन आवश्यक रहेको बताए । कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन मिन बहादुर धामीले गरेका थिए । कार्यक्रममा कैलालीका विभिन्न सञ्चार माध्याममा कार्यरत सञ्चारकर्मी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।





























