
बझाङ: तिन चार महिना भारतका विभिन्न शहरहरुमा पुगेर मजदुरी गर्ने र खेती किसानी गर्दा घर पुग्नु पर्ने बाध्यता बझाङ जिल्लामा अधिकांश किसानहरुको हो । दुई तिन महिना विभिन्न मजदुरीको काम गरेर आम्दानी गरेको पैशाले घरमा भएका छोरा, छोरी, आमा बुबा र श्रीमतीलाई एक सरो नयाँ लुगा भए पनि लिएर घर फकीन्छन् । बर्षौ देखी यस्तै गर्दै आएका थिए, बुंगल नगरपालिका वडा नम्बर ८ का ४६ बर्षिया सुका ऐडी । माघ महिनामा भारतको पिथौरागडमा पुगेर मजदुरी गरी नयाँ बर्ष मनाउनका लागी चैत्रको अन्तिम साता तिर घर फर्कीए थिए सुका । तिन महिना कमाएको रकमले नयाँ बर्षका लागी भन्दै आफ्ना छोरा, छोरी र श्रीमतीका लागी एक एक जोर नयाँ कपडा ल्याएर घर फर्कीएका थिए उनि । सानै उमेरमा बुबा र आमा गुमाएका ऐडी सहयोगी भावनाका थिए । बैशाख महिनामा घरमा मकै छर्कनका (लगाउनका) लागी चटारो थियो । सुका ऐडी पनि आफ्नो खेतबारीको केही काम सक्काएर आधा काम मात्रै बाँकी थियो । उनका छिमेकी करे ऐडी शारिरिक रुपमा निकै कमजोर छन् । उनी औषधि गरी राख्नु भएको छ । करे आफ्नो करेसाबारीको काम समेत गर्न सक्दैनन् ।

बैशाख ३० गते करे ऐडीले आफ्नो छिमेकी सुका ऐडीलाई आफ्नो खेतबारीमा काम गर्न सहयोगका लागी अनुरोध गरे । आफ्नो खेतबारीको कामलाई थाति राख्दै सुका ऐडी करे ऐडीको खेतबारी भएको स्थान सिन्केधारमा आफ्ना हलगोरु समेत लिएर एका विहानै काम गर्न पुगे । खेतबारीमा मकै छर्किएर हल गोरु जोत्न सुरु गरे । स साना खेत रहेको उक्त खेतबारीमा एक हल गोरु पनि मुस्कीलले अटाउन्थ्यो । बर्षौ पहिले देखी गोरु जोतेर विभिन्न अन्नबाली लगाउदै आएका करेको परिवार पनि संगै थियो । विहानको ९ बजेको थियो । कोही आ आफ्ना छोरा छोरीहरुलाई विद्यालय पठाउदै थिए । कोही खाना खाँदै त कोही खाना पकाउदै । विहानको अन्नि (नास्ता) समेत नखाई खेतबारीमा पुगेका सुका ऐडी हल गोरु फर्काउने क्रममा अकस्मात हल गोरु सहित आफु र हलो जु सबै खेतबारी बाट लडे । छिमेकीले हल गोरु समेत हली खस्यो भन्ने हल्ला सुनेपछी सुका ऐडीकी श्रीमती भान्छा बाट हतार हतारमा बाहीर निस्कीन । गाउँमा भएका सबैजना घटना स्थलमा पुगे । खेतबारीको भिर बाट करीब १ सय २० मिटर तल खसेका थिए सुका । एउटा गोरुको घटना स्थलमा नै मरी सकेको थियो । एउटा गोरुको शास मात्रै थियो । हलगोरु जोत्ने हली सुका ऐडी समेत अचेत अवस्थामा थिए । हतार हतारमा गाउँलेहरुले बुंगल नगरपालीकाको एम्बुलेन्सलाई खबर गरे । सुकाका छिमेकीहरुले ऐडीलाई एम्बुलेन्समा राखेर उनलाई डडेल्धुरा उपचारका लागी लगे । अचेत अवस्थामा रहेका ऐडीको विजयपुर नपुग्दै निधन भयो । यता भिर बाट लडेको अर्को गोरु पनि मर्यो ।

खेती किसानी गर्दै आएका सुका ऐडीको निधन पछी उनको परिवारको विचल्ली भएको छ । ५ छोरी १ छोराको लालन पालनको जीम्मेवारी सबै उनको श्रीमतीको काँधमा आएको छ । २ छोरीको विवाह भएर पराई घर गएका भएपनी ३ छोरी र १ छोरा भने उनी संगै छन् । उनकी छोरी १६ बर्षिया सचिना ८ कक्षामा , १० बर्षिया सर्मिला ३ कक्षामा, ७ बर्षिया शुशिला १ मा र १३ बर्षिया प्रेम ऐडी कक्षा ५ मा अध्यनरत छन् । उनीहरुको लालन पालन सबै कुरा पुरा गर्ने जिम्मेवारी स्व. सुका ऐडीकी ४३ बर्षिया श्रीमती बेलुल ऐडीको काँध आएमा आएको छ ।
भर्खरै भारतमा मजदुरी गरेर घर फर्कीएका श्रीमानको खेतीबारीमा काम गर्ने क्रममा निधन भएपछी उनकी श्रीमती विछिप्त अवस्थामा छिन् ।

उनको यो अवस्थालाई मध्येनजर गर्दै कृर्षि ज्ञान केन्द्र बझाङका कार्यलय प्रमुख खेमराज पनेरुको अनुरोध र नेपाल कृर्षि प्राविधिक एसोसिएसनको संयुक्त पहलमा पिडीत कृषक परिवारलाई नगद ७३ हजार ७ सय रुपैया आर्थिक सहयोग गरेको छ । बुंगल नगरपालिकाका मेयर जय बहादुर धामीको हात बाट उक्त रकम सहयोग गरेको पनेरुले बताए ।
काम गर्दै जाँदा हल गोरु सहित किसानको निधन भएको खबर निकै दखदायि भएको बताउदै, उनले पिडीत परिवारलाई सामान्य सहयोग मात्रै गर्न खोजेको बताए । पिडीतको घरमा नै पुगेर बुंगल नगरपालिकाका मेयर जय बहादुर धामी र कृर्षि ज्ञान केन्द्र बझाङका कार्यलय प्रमुख खेमराज पनेरुले नगद सहित पिडीत परिवारलाई शान्तवना दिएको हो ।
उक्त परिवारलाई दुख पर्दा नगरपालिका जहिले पनि साथमा रहने प्रतिबद्धता सहित नगरपालिकाले पिडीत परिवारलाई नगद ४० हजार उपलब्ध गराएको बुंगल नगरपालिकाका मेयर जय बहादुर धामीले बताए । उनले भने, यि भविष्यका कर्णधार स साना बालकालीकाको पढाई खर्च देखी परिवारमा त्यस्तो कुनै समस्या आएको खण्डमा आफ्नो कोहि पनि छैन भनेर निराश नहुनु अनुरोध गरे । यसका लागी सिङ्गो बुंगल नगरपालिका पिडीत परिवारको साथमा रहेको बताए । साथै उनले कृर्षि ज्ञान केन्द्रले दुखको यस घडीमा गरेको यो सहयोग निकै प्रसंसनिय रहेको बताए ।





















