
अत्तरियाः बाजुराको त्रिवेणी नगरपालिकाले बाम्का बजारमा हालै भएको भीषण आगलागी पीडितहरूलाई राहत स्वरूप १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

शनिवार सम्पन्न नगर कार्यपालिकाको बैठकले आगलागीपीडितको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुग्ने उद्देश्यले राहत रकम प्रदान गर्ने निर्णय लिएको हो। त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर थापाले राहत घोषणासँगै सबैलाई सहयोगको अपिल गरेका छन्।
उनले भने, “यस दुःखद घडीमा पीडितहरूप्रति सहानुभूति व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा हातेमालो गर्न नगरवासी तथा संघसंस्थालाई अनुरोध गर्दछु।”

शुक्रवार दिउँसो बाम्का बजारस्थित नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई फैलिएको आगलागीमा करीब २० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका थिए। प्रारम्भिक अनुमान अनुसार घटनामा १९ करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ।

शनिवारदेखि क्षतिको एकिन विवरण संकलन कार्य तीव्र पारिएको जनाइएको छ।
नगरपालिकाले आगो नियन्त्रणमा सक्रिय भूमिका खेलेका सुरक्षा निकाय, स्थानीयवासी तथा उद्धारकर्मीप्रति धन्यवाद प्रकट गरेको छ।
त्रिवेणी नगरपालिकाको यो निर्णयले संकटमा परेकाहरूलाई तत्काल राहत पुगोस् र पुनःस्थापनाको कार्यमा टेवा पुगोस् भन्ने अपेक्षा गरिएको छ।






























