
बैतडी: बैतडीको सिगास गाउँपालिकामा महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बन्धी १ दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा उक्त कार्यक्रम आज शनिबार एक औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको हो ।

महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बन्धी जनचेतनामूलक कार्यक्रममा सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामी, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी, बिभिन्न विषयगत शाखामा कार्यरत शाखा प्रमुखहरु, ९ वटै वडाका महिला सदस्य र दलित महिला सदस्यहरू १८ जना, ९ वटै वडा बाट दलित समुदायका एक पुरुष र एक महिला गरी १८ जना, हरेक वडाबाट गैर दलित समुदायका १ महिला र १ पुरुष गरि १८ जना, प्रत्येक वडामा रहेका एक आमा समूहका पदाधिकारी ९ जना लगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

सिगास गाउँपालिकाको मानव विकास सुचकांकमा अंक अभिवृद्धि गर्न बालविवाह न्यूनीकरण र महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको सिगास गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ ।
महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बन्धी १ दिने जनचेतनामूलक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी, रोजगार सेवा केन्द्र प्रमुख राजेन्द्र सिंह धामी, कृषि अधिकृत रमेश साउद, जनस्वास्थ्य निरीक्षक भीम सिंह ऐेर, एमआइएस अपरेटर डम्बर सिंह ऐेरले प्रशिक्षण गर्दै “महिला सशक्तिकरण के हो? : अवधारणा र महत्त्व”, इतिहास र वर्तमान सन्दर्भमा महिला सशक्तिकरणको अवस्था, नीतिगत प्रबन्ध (संविधान, नीति तथा कार्यक्रमहरू), “लैङ्गिक समानता र भेदभाव: सिगासको समाजमा वास्तविकता”, लैङ्गिक भेदभावका प्रकारहरू शिक्षा, रोजगारी, घर-परिवार, राजनीति, सांस्कृतिक र सामाजिक संरचनामा लैङ्गिक असमानता, सुधारका उपायहरू, “महिलाको आर्थिक सशक्तिकरण: उद्यमशीलता र रोजगारीमा पहुँच”, महिला उद्यमीहरूको अवस्था, आर्थिक सशक्तिकरणको भूमिका, स्थानिय सरकारले गरेका कार्यक्रमहरू, “कानुनी अधिकार र संरचना: महिलाको लागि कानुनी संरक्षणहरू”, महिलाको हक अधिकारसम्बन्धी प्रमुख कानुनहरू (घरेलु हिंसा, सम्पत्ति अधिकार, कार्यस्थलमा सुरक्षा आदि), उजुरी गर्ने प्रक्रिया, सरकारी निकाय र पहुँच, “सफल महिला प्रेरणादायी पात्र: अनुभव साटासाट”, संघर्ष, चुनौती र समाधान, महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बन्धमा भएका सन्धि सम्झौता हरु सम्बन्धमा वृहत छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले महिलाहरुले चुलोचौको देखि नै महिला सशक्तिकरण तथा लैङ्गिक समानताका विषयमा चनाखो हुनुपर्ने बताउनुभएको छ । छुवाछुत प्रथा लगायत, भाषा, धर्म, संस्कृति, चालचलन आदिको रुपमा हुने भेदभाव पूर्ण रुपले निर्मुल पार्नु सिगास गाउँपालिका बासीको महत्वपूर्ण कार्य हुने उहाँको भनाई थियो ।
कार्यक्रमा सहभागी सबैले महिला सशक्तिकरण तथा लैङ्गिक समानताका लागि जनचेतनामूलक कुरामा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागि सम्पूर्णले महिला सशक्तिकरण तथा लैङ्गिक समानताका लागि आ-आफ्नो क्षेत्रबाट लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
यस्तै कार्यक्रममा बोल्दै सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामीले गाउँपालिका लाइ महिला सशक्तिकरण तथा लैङ्गिक समानताका लागि सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । आज कार्यक्रममा सिकेका कुरा व्यवहारिक जीवनमा लागु गर्दै समाजमा विद्यमान महिला हिंसाविरुद्ध आवाज उठाउनुपर्ने बनाउनुभयो । यस्तै आगामी आर्थिक वर्ष देखि बालविवाह अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम, महिला सशक्तिकरण तथा लैङ्गिक समानताका लागि जनचेतनामूलक कार्यक्रम, किशोर किशोरी सम्बन्धी सचेतनामुलक कार्यक्रम हरेक वडा वडा तथा विद्यालयमा आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

कार्यक्रमको सञ्चालन रोजगार शाखा प्रमुख राजेन्द्र सिंह धामीले गरेका थिए ।







































