
जयपृथ्बी नगरपालिकामा बालमैत्री स्थानीय शासन (सीएफएलजी) सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ। नगरपालिकाको आयोजनामा, प्रगतिशील युवासमाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्यमा तालिम सञ्चालन गरिएको हो।

तालिममा बालमैत्री स्थानीय शासनको व्यवस्थापन, नयाँ आर्थिक वर्षमा सूचकहरू पूरा गर्ने रणनीति, स्रोत सुनिश्चितता, अवधारणा पुनर्ताजगी, समितिहरूको क्षमता अभिवृद्धि, सूचकहरूको स्थानीयकरण, बालबालिकाको वस्तुगत विवरण संकलन तथा लगानी योजना निर्माणसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको बाल संरक्षण परियोजना अधिकृत विनोद थापाले जानकारी दिनुभयो।


कार्यक्रमका सभापति तथा नगरप्रमुख चेतराज बजालले जयपृथ्बी नगरपालिकाले बालमैत्री स्थानीय शासनको अवधारणा अंगाल्दै वडा नं. ६ र ११ लाई बालमैत्री वडा घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो। यस कार्यका लागि सबै सरोकारवालाको सहकार्य र जनचेतना अभिवृद्धि अपरिहार्य रहेको उहाँको भनाइ थियो।
तालिममा पालिका र वडा स्तरका बालमैत्री स्थानीय शासन समितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।































