
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले किसानहरुलाई पावर टिलर सँगै अन्य कृषि सामाग्री वितरण गरेको छ ।

कृषिमा यान्त्रिकीकरणको खाँचो झन् बढ्दै गइरहेको वर्तमान परिवेशमा कैलालीको गोदावरी नगरपालिकाले एउटा उदाहरणीय प्रयास गर्दै मेलमिलाप कृषक समूहलाई पावर टिलर लगायत कृषि सामग्री अनुदानमा वितरण गरेको छ।

गोदावरी नगरपालिका–३ चौकिडाँडामा रहेको उक्त कृषक समूहलाई तोरी पकेट विकास कार्यक्रमअन्तर्गत लागत साझेदारीमा कृषि यन्त्र तथा सामग्री हस्तान्तरण गरिएको हो। नगरपालिकाले ५० प्रतिशत अनुदान र कृषकले ५० प्रतिशत लगानीमा सामाग्री प्राप्त गरेका हुन्।
स्थानीयस्तरमा खेत जोत्न गोरु पाउन कठिन, लागत महँगो, समय बढी लाग्नेजस्ता समस्याका कारण साना किसानहरू खेतीमा पिछडिन थालेका छन्। यस्तो अवस्थामा पावर टिलर सस्तो, सहज र व्यावहारिक विकल्प बन्ने विश्वास नगरपालिकाले लिएको हो।
यसैअनुसार गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले मेलमिलाप कृषक समूहकी संयोजक कौशिल्ला देवी बुढालाई ११ थान ७ HP क्षमताका पावर ट्रेलर हस्तान्तरण गरेका हुन्। साथै, अन्य सहायक सामग्रीहरू भण्डारण ड्रम २० थान, तोरीको बिउ ८० केजी, कम्पोष्ट मल २० ट्राली, त्रिपाल, स्प्रे मेसिन, कुटो र कोदालो – २०/२० थान वितरण गरिएको थियो ।
कुल १२ लाख ४८ हजार रुपैयाँ लागतमा यो कार्यक्रम सम्पन्न भएको हो। जस अन्तरगत नगरपालिकाको अनुदान: रु ६ लाख र कृषकको योगदान: रु ६ लाख ४८ हजार रहेको थियो ।


कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले कृषिलाई व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गर्दै मातृपेशाका रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए।

उनले कृषिमा लागत र श्रम घटाएर उत्पादकत्व वृद्धि गर्ने, साथै किसानलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले नगरपालिका विभिन्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए।
नगरप्रमुख भट्टका अनुसार, सानो क्षेत्रफलमा समेत यन्त्रको प्रयोगले सहज खेती सम्भव हुने भएकाले यस्ता उपकरणहरू किसानका लागि अत्यन्त उपयोगी हुनेछन्।
उनले थपे, “सबै कृषकसम्म एकैपटक उपकरण पुर्याउन नसके पनि यसको सकारात्मक प्रयोग भएमा आगामी वर्ष यस्ता कार्यक्रम अझै विस्तार गरिनेछ।”

गोदावरी नगरपालिकाले थालनी गरेको यो पहल स्थानीय तहमा यान्त्रिक कृषि प्रणालीको जग बसाउने दिशा तर्फको महत्वपूर्ण पाइला हो। ५० प्रतिशत अनुदानमा दिइएका उपकरणले कृषकको मेहनत बचाउनुका साथै उत्पादन र आम्दानी बढाउने विश्वास लिइएको छ।
यस्ता कार्यक्रमलाई निरन्तरता दिइयो भने ग्रामीण कृषिमा क्रान्तिकारी परिवर्तन सम्भव छ — जसको सुरुवात गोदावरीले गरिसकेको छ।
कृषकलाई पावर टिलर बितरण कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रबक्ता तथा वडा न १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट, कृषि शाखा प्रमुख नन्दी मल्ल लगायत कृषक समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।



































