
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सभापतित्व महासंघका प्रदेश अध्यक्ष मान बहादुर साउँदले गरेका थिए।

मन्त्री खड्काले अपाङ्गता क्षेत्रसम्बन्धी नीति मन्त्रालयबाट पारित भएको जानकारी दिँदै, यसलाई संसदले अनुमोदन गरिसकेको उल्लेख गरे। उनले अपाङ्गता मैत्री संरचना निर्माण र स्रोत व्यवस्थापनमा मन्त्रालय गम्भीर रहेको बताए।
अध्यक्ष साउँदले महासंघले “स्मारिका २०८२” प्रकाशन गरी तीन वर्षे कार्यकालमा गरिएका पहल र उपलब्धिहरू सार्वजनिक गरेको जानकारी दिए। उनले ३ प्रतिशत निजामती सेवा आरक्षणलाई ५ प्रतिशत पुर्याउन र एमबिबिएस छात्रवृत्तिमा अपाङ्गता भएका विद्यार्थीको समावेश सुनिश्चित गर्न महासंघको योगदान उल्लेख गरे।


महासंघले ९ वटै जिल्लामा समन्वयात्मक अभियान चलाएको र १८ पालिकामा अपाङ्गता सम्बन्धी तथ्याङ्क संकलन कार्य सम्पन्न भएको जनाइएको छ।
महासंघकी उपाध्यक्ष अनिता घिमिरेले संस्था परियोजना–मुखी बनेकोमा चिन्ता व्यक्त गर्दै, अभियानमुखी धारमा फर्कनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा अपाङ्गता अधिकार प्रवर्द्धनमा योगदान गर्ने पत्रकारहरूलाई सम्मान गरिएको थियो।
































