
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाका तीन भिन्ना भिन्नै स्थानमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । गोदावरी नगरपालिकाको आयोजनामा बेलपानी गाउँघर क्लिनिक, कोल्मुडा आधारभुत स्वास्थ्य केन्द्र र हाटखोली स्वास्थ्य केन्द्रमा सम्पन्न निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ३३० जनाले सेवा लिएका छन ।


बेलपानी गाउँघर क्लिनिकमा १०४ जना, कोल्मुडा आधारभुत स्वास्थ्य केन्द्रमा १०६ जना र हाटखोली स्वास्थ्य केन्द्रमा १२० जनाले सेवा लिएका छन ।


गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टको निर्णयअनुसार दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी आधारभुत सेवा दिनका लागि स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको थियो। शिविरमा स्त्री रोग, हाडजोर्नी, जनरल सर्जरी, जनरल मेडिसिन लगायतका सेवा उपलब्ध गराइएको थियो।

गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नसा रोग, स्त्रीरोग विशेषज्ञमार्फत स्वास्थ्य परीक्षण, प्रयोगशाला सेवा, गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड, पाठेघरको मुखको क्यान्सर र प्रजनन स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण जस्ता सेवा प्रदान गरिएको बताएका छन ।


निःशुल्क स्वास्थ्य शिविरमा सेती प्रादेशिक अस्पतालका गाइनोक्लोजिस्ट डा. कोमल शाह, गेटा अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. मोहन चन्द्र जोशी, जनरल फिजिसियन डा. गणेश फुलारा, गोदावरी नगरपालिका स्वास्थ्य शाखाको टोली र मालाखेती अस्पतालका नर्सिङ कर्मचारीको सक्रिय सहभागिता रहेको थियो।
































