सिगास गाउँपालिका–६ मोरीबगरमा अस्थायी प्रहरी चौकी स्थापना, स्थानीयबासीमा उत्साह

Image
Nisarga Hospital

बैतडी — बैतडी जिल्लाको सिगास गाउँपालिका –६ मोरीबगरमा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले एक महत्वपूर्ण पहल स्वरूप अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। बढ्दो जनघनत्व, सामाजिक विविधता, भौगोलिक जटिलता तथा मौलाउँदै गएका आपराधिक गतिविधिहरूको न्यूनिकरण गर्न चौकी स्थापना गरिएको हो।

CP Hospital Dhangadhi
तस्बिर: सिगास – ६ का वडा अध्यक्ष तेजबहादुर साउद

मोरीबगर तीन जिल्ला — बैतडी, डोटी र बझाङको संगम स्थलमा अवस्थित संवेदनशील क्षेत्रमा पर्दछ । यस क्षेत्रको भौगोलिक पहुँच कठिन र राज्य संयन्त्रबाट लामो समयदेखि उपेक्षित रहँदै आएको थियो। सुरक्षा निकायको प्रत्यक्ष उपस्थिति नहुँदा चोरी, डकैती, जुवा, मदिरा दुरुपयोग, घरेलु हिंसा तथा अन्य आपराधिक क्रियाकलापहरू बढ्दै गएको प्रति स्थानीयबासी चिन्तित थिए । विवाद समाधान, सामाजिक शान्ति स्थापनाका साथै तिव्र न्यायिक पहुँचको अभावमा दैनिक जीवन असुरक्षित बन्दै गएको यहाँका नागरिकले बताउँदै आएका थिए ।

nawajiwan
तस्बिर: सिगास – ६ का वडा अध्यक्ष तेजबहादुर साउद

स्थानीय आवश्यकता र जनअपेक्षालाई ध्यानमा राख्दै सिगास गाउँपालिका तथा वडा कार्यालयको अग्रसरतामा चौकी स्थापनाको प्रक्रिया अघि बढाइएको हो । यो कार्य गृह मन्त्रालयका मन्त्री रमेश लेखक, प्रदेश सरकार, गाउँपालिका अध्यक्ष हरिसिंह धामी, वडा अध्यक्ष तेजबहादुर साउद तथा नेपाली काँग्रेस बैतडीका महासमिति सदस्य उत्तर बहादुर ऐर लगायत विभिन्न सरोकारवाला निकायको संयुक्त समन्वय तथा प्रयासबाट सम्पन्न भएको हो।

Attariya Hospital

वडा नं. ६ का अध्यक्ष तेजबहादुर साउदले बताए अनुसार, “हामीले बारम्बार गृह मन्त्रालय धाएर, सम्बन्धित निकायहरूसँग समन्वय गरी यो प्रहरी चौकी स्थापनाको वातावरण तयार गरेका हौँ। सुरक्षाकर्मीलाई बस्न घर निर्माण कार्य सम्पन्न भइसकेको र केही दिनमै आवश्यक जनशक्ति परिचालन भई नियमित सेवा सुरु हुनेछ। यसबाट अब स्थानियले छिटो र सहज रूपमा प्रहरी सेवा पाउनेछन्।”

तस्बिर: सिगास – ६ का वडा अध्यक्ष तेजबहादुर साउद

उनले थपे, “यो चौकी स्थापनाले केवल सुरक्षाको प्रत्याभूति मात्र गर्ने होइन, अपराध नियन्त्रण, सार्वजनिक हित र सामाजिक शान्तिको जग बलियो बनाउनेछ। यो दीर्घकालीन समाधान तर्फको महत्वपूर्ण कदम हो, जुन स्थानीय समृद्धिका लागि कोशेढुंगा सावित हुनेछ।”

स्थानीयबासीहरुमा चौकी स्थापनापछि उत्साह देखिएको छ। उनीहरूले चौकी स्थापनाले आफ्नो दिनचर्या मर्यादित, सुरक्षित र व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन्। साथै, यो पहलले आपसी सहयोग, सामाजिक सद्भाव, सहजीकरण र नागरिक–प्रशासन सम्बन्ध मजबुत बनाउने अपेक्षा गरिएको छ।

सिगास–६ मोरीबगर जस्तो भौगोलिक रूपमा दुर्गम र प्रशासनिक सेवाबाट टाढिएको क्षेत्रमा प्रहरी चौकी स्थापनाले समग्र सिगास गाउँपालिका सहित बैतडी, बझाङ र डोटी जिल्लाका बिभिन्न ठाउँ भित्र सुरक्षाका सवालमा नयाँ आशा र विश्वासको सन्देश फैलाएको छ। यो प्रयासले केवल मोरीबगर मात्रै नभई आसपासका वडाहरूलाई समेत प्रत्यक्ष लाभ दिने विश्वास लिइएको छ।