
धनगढी: सुदूरपश्चिमको प्रमुख शक्तिपीठका रुपमा रहेको बडिमालिकामा पूजाका लागि धनगढी उपमहानगरपालिकाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । नगरवासीको सुख शान्तिको कामना गर्दै पहिलो पटक उपमहानगरपालिकाको टोली आइतबार बडिमालिका प्रस्थान गरेको हो ।

बडिमालिका मन्दिर विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको कलात्मक मन्दिर हो । समुन्द्री सतहदेखि तीन हजार ८६० मिटर उचाइमा रहेको यो मन्दिर बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ६ मा रहेको छ ।
आदिमकाल देखिकै धार्मिक आस्थाको धरोहरका रुपमा रहेको बडिमालिका मानव जातिका लागि प्रकृतिले दिएको अनुपम उपहार मानिन्छ ।

उपमहानगरपालिकाले नगर उपप्रमुख कन्दकला राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती लगायतको टोली प्रसिद्ध धार्मिक स्थल बडिमालिका पठाएको हो ।


सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बाजुरास्थित बडिमालिका माईको मन्दिरमा यही साउन २३ गते चतुर्दशीका दिन लाग्ने धार्मिक मेलाको अवसरमा उपमहानगरपालिकाको सरकारी पूजा टोली प्रस्थान गरेको जनाइएको छ ।
उपमहानगरको टोलीमा ४५ जना रहेका छन् । धनगढी उपमहानगरपालिकाको टोलीले वनदेवी मन्दिरमा पूजासहित विधि पूर्वक यात्रा सुरु गरेको हो । उपमहानगरको ३६ औं कार्यपालिका बैठकको निर्णय, नीति तथा कार्यक्रम अनुसार पूजाका लागि उपमहानगरको सरकारी टोली बडिमालिकाका गएको बताइन्छ ।
बडीमालिकामा उपमहानगरपालकाको पहिलो पूजा भएको र त्यहाँ गएर धेरै अनुभव तथा आशीर्वाद प्राप्त हुने विश्वास रहेको छ । उपमहानगरपालिकाको टोलीले धनगढीको वनदेवी मन्दिरमा पूजासहित विधि पूर्वक यात्रा सुरु गरेको हो । वनदेवी मन्दिरमा नगरप्रहरीको टोलीले सरकारी टोली र पूजासामाग्रीलाई सलामी सहित विदाई गरेको थियो ।
बडिमालिकामा यसअघि सुदूरपश्चिमको डोटी र बाजुराबाट मात्रै सरकारी टोली पूजासामाग्री (पटेरो) सहित बडिमालिका जाने गरिएकोमा यसपाली देखि धनगढी उपमहानगरपालिकाको पनि सरकारी पूजा सामाग्री सहित टोली गएको हो । धनगढीबाट यो यात्रा कम्तीमा पनि ८ दिनको हुने बताइएको छ ।


















